औद्योगिक क्षेत्रमा एकतर्फी भाडा बढाएको निजी क्षेत्रको गुनासो «

औद्योगिक क्षेत्रमा एकतर्फी भाडा बढाएको निजी क्षेत्रको गुनासो

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिानी) बीच औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा छलफल भएको छ ।
छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलनलगायतका विषयमा छलफल भएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको २२ असारको निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी बील औद्योगिक क्षेत्रभित्रका उद्योगलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको बताइएको छ । लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालासँगको परामर्श बिनै भाडा वृद्धि गरी पत्र पठाएको फिनीले जनाएको छ ।
पछिल्लो पटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगलाई आपसी सहमतिबाटै भाडा वृद्धि गर्नुको साटो एकतर्फीरूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमै प्रतिकुल असर पर्ने भन्दै फिनीले चिन्ता व्यक्त गरेको छ ।
औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर सरकारले आयआर्जन गर्ने प्रवृत्ति देखिएको भन्दै दुवै संस्थाका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।
औद्योगिक क्षेत्र भित्रका उद्योगलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएकोलगायतमा गुनासा फिनीले गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका समस्या समाधानका लागि संयुक्त रुपमा दवाव दिन सहयोग गर्ने बताए ।
कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुु पर्ने भन्दै अध्यक्ष गोल्छाले सरकारले नै उद्योगी व्यवसायीलाई हतोत्साहित बनाउन खोजेको आरोप लगाए । भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको भन्दै अध्यक्ष गोल्छाले जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्