जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने सरकारको तयारी «

जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने सरकारको तयारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।
लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको बुधबार निरीक्षणपछि मन्त्री बडूले कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए । उनले सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए ।
“राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने,नयाँ उद्योग खोल्ने योजना छ” उनले भने, “स्वदेशी र विदेशी लगानी कर्ता नयाँ उद्योग खोल्नको लागि आकर्षण गर्न धेरै नीति तथा कायक्रम बनाएका छौं ।”
उनले पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भएपनि सञ्चालनमा ल्याउने उल्लेख गरे ।
“उद्योग चलाउनको लागि एक्लै सरकारले नसक्दा निजी क्षेत्रसँग सहकार्य गरेर चलाउनु पर्छ” उनले भने, “निजी क्षेत्रलाई लिजमा दिएर नाफा कमाएर सरकारलाई राजस्व तिर् भन्न पनि सकिन्छ ।”
मन्त्री बडूले अहिले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग बन्द रहेको बताए । उनले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्न बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताए । उनले मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिने दाबी गरे । मन्त्री बडूले अब निजी क्षेत्र र सरकार दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्ने बताए । उनले सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउन विशेष सहुलियत दिने नीति बनाएकोसमेत बताए । उनले जनकपुर चुरोट कारखाना पुन: सञ्चालनमा ल्याउन निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्