वीरगन्जको द्रूत विकासका लागि सम्भावनाको खोजी गर्दै

नेपालको प्रमुख सहरमध्ये मुख्य नाका वीरगन्जको द्रूत विकासका लागि सम्भावनाको खोजी गरिँदै छ । नेपालको प्रमुख सहरमध्ये एक वीरगञ्ज महानगरपालिका विकासमा अन्य सहर भन्दा पछि परेको र यसको विकासका लागि सम्भावना के के हुन सक्छन् भनेर निजी क्षेत्रले नगर प्रमुखसँग छलफलबाट सम्भावना खोज्ने प्रयास गरेको हो ।
सीमा क्षेत्रसँग जोडिएको महानगर सामरिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकोले दुवै देशको सीमा क्षेत्रमा हुनसक्ने विकासका सम्भावनाको खोजी गर्न नेपाल र भारतका सामाजिक तथा आर्थिक विकाससँग सरोकार राख्ने संस्था ‘सोसियो एकोनोमिक फोरम’ ले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग ‘वीरगञ्जको विकास सम्भावना र सरोकार’ विषयक अन्तरक्रिया गरेको हो ।
महानगरपालिकाका नगर प्रमुख सिंहले विकासका लागि जनताले भोट दिएर जिताइसके पनि अझै साथ र सहयोग आवश्यक रहेको बताए । वीरगन्ज महानगरको विकासका लागि आवश्यक सल्लाह सुझावका लागि कार्यालयमा नै आएर दिन पनि सकिने भन्दै उनले निम्तो दिएपछि मात्रै आउनु भन्दा समय समयमा आफूसँग आएर सल्लाह सुझावहरु दिन सरोकारवाला विज्ञहरुलाई आग्रह गरे ।
वीरगन्जको विकासमा निजीक्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताउँदै मेयर सिंहले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्दा महानगरसँगको समन्वय गर्नुपर्नेमा जोड दिए । अहिले महानगरपालिकामा सबैभन्दा बढी बेरोजगारीले रोजगारी खोजीदिन आग्रह गर्ने गरेको र यसले आपूmलाई अन्य विकासका कामहरु हेर्न समय नपाएको गुनासो गर्दै वीरगञ्ज र आसपासका क्षेत्रका उद्योगले स्थानीय युवालाई रोजगारी दिनुपर्ने बताए । उनले उद्योगमा हड्ताल गर्ला भनेर उद्योग प्रतिस्ठानहरुलाई डर भय छ । त्सको ग्यारेन्टी महानगरले लिने र रोजगारीको प्रत्याभूति गरी निजी क्षेत्रले उनीहरूलाई काम गर्ने अवसर दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले साना टुक्रे विकास योजना भन्दा ठूला योजनाहरु वीरगन्जको विकासका लागि के के हुन सक्छन् त्यसतर्फ महानगरपालिकाको ध्यान जान जरुरी रहेको बताए । उनले सानातिना विकासका लागि वीरगन्जका निजी क्षेत्रहरुले पनि साथ दिने बताउँदै ठूला र नयाँ प्रोजेक्टको लागि लगानीकर्ता खोज्न महानगरपालिकालाई आग्रह गरे ।
वीरगञ्ज पुरानो सहर भए पनि देशका अन्य सहरभन्दा विकासमा पछाडि पर्नु दु:खद भएको छलफलमा सहभागीले बताएका थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अशोक टेमानीले दुई ठूला देश चीन र भारतको अन्तर्राष्ट्रिय बजारको ट्रान्जिट बन्न सक्ने सम्भावना भएपनि पूर्वाधार संरचनाको उचित विकास हुन नसक्दा यसले आफ्नो उपयोगिता लिन नसकेको बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, लायन्स क्लब इन्टरनेसनलका पूर्वअध्यक्ष सञ्जय खेतान, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्र, अधिवक्ता पन्नालाल गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्वअध्यक्ष अनुप अग्रवाले महानगरपालिकालाई सुझाव दिएका थिए ।