आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित «

आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित

बुटवल पावर कम्पनी साधारण क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक बर्ष २०७७/०७८ मा प्रकाशित वार्षिक प्रतिबेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
महालेखा नियन्त्रक सुमनराज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले आगामी दिनमा अझ वढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने बताइएको छ ।
कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाची जिल्लाका करीव ६० हजार ग्राहकलाई विद्युत वितरण गर्दै आएको छ । हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनामा पनि कम्पनीको लगानी रहेको छ भने पूर्वनिर्माणको चरणमा रहेका मस्र्याङ्डी बेसिनस्थित करीव ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनामा समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्