कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म पनि कर्णालीका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
कर्णालीका हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुन्छ भने अन्य पहाडी जिल्लामा वैशाखदेखि सुरु हुन्छ । हिमाली जिल्लामा प्राय: सधैंजसो पाठ्यपुस्तक अभाव हुने गरेकोमा यस वर्ष अन्य जिल्लामा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझैसम्म पाठ्यपुस्तक नपाएका हुन् । कर्णालीमा अहिलेसम्म कक्षा ६ र ८ को सामाजिक र गणित विषयका पुस्तक पुगेको छैन । कालिकोटको पचालझरना गाउँपालिकाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलराज कठायतले पाठ्यपुस्तक नहुँदा पठन ाठन प्रभावित भएको बताए । यस्तै, हिमाली जिल्लामा मात्र होइन प्रदेश राजधानी रहेको सुर्खेतमै पनि अझै सबै कक्षाका सबै विषयका पाठ्यपुस्तक पुगेका छैनन् । सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालय अवल्चिङ्गका प्रधानाध्यापक चौहानसिंह रानाले शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा समेत पाठ्यपुस्तक नआउँदा पठन पाठनमा अन्योल भएको बताए ।
यता पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताएको छ । केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख धनबहादुर केसीले स्थानीय तहको निर्वाचन र केही प्राविधिक कारणले पुस्तक उपलब्ध गराउन ढिलाइ भएको बताए । बाँकी पुस्तक सुर्खेत गोदाममा आउने बित्तिकै सबै जिल्लामा पठाइने प्रादेशिक कार्यालयले जनाएको छ । कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा पुस्तक पुगिसकेको र केही पुस्तक ढुवानीका क्रममा बाटोमै रहेको कार्यालयको भनाइ छ ।