युनिसेफ नेपालकी नयाँ प्रतिनिधि एल्के विस

युनिसेफले नेपालका लागि युनिसेफको नयाँ प्रतिनिधिको रुपमा एल्के विसलाई स्वागत गरेको छ । विस बालबालिका र महिलाको अधिकारको क्षेत्रमा लामो अनुभव भएकी जर्मन नागरिक हुन् ।
“म लामो समयदेखि नेपाल आउन चाहन्थे । म यो सुन्दर देशमा आउन र नेपालका बालबालिका र महिलाको सेवा गर्ने अवसर पाउँदा निकै खुसी छु,” विसले भनिन् । विगत २३ वर्षमा विसले विभिन्न खालका विकासकालीन, संक्रमणकालीन र आपतकालीन परिवेशमा बालबालिका, महिला र उनीहरुको समुदायको जीवन सुधार्नका लागि काम गरेकी छन् । उनले सन् १९९६ मा रुवाण्डामा बाल संरक्षण अधिकृतको रुपमा युनिसेफमा प्रवेश गरेकी थिइन् । त्यसपछि लाइबेरियामा बाल संरक्षण प्रमुखको रुपमा काम गरेकी थिइन् । सन् १९९९ र २००१ को बीचमा उनले कोसोभोको आपतकालीन अवस्थामा कार्यक्रम संयोजक र एफवाइआर म्यासेडोनियाको नायव प्रतिनिधीको रुपमा बाल्कन क्षेत्रमा काम गरेपछि सन् २००३ देखि २००७ मा म्यानमारमा युनिसेफको नायव प्रतिनिधीको रुपमा काम गरेकी थिइन् ।
विसले म्युनिख विश्वविद्यालयबाट सामाजिक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालयको केनेडी स्कूल अफ गभर्मेन्टबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् । युनिसेफमा आवद्ध हुनुअघि, विसले जर्मनी र संयुक्त राज्य अमेरिकाका विभिन्न द्वन्द्व समाधान संस्थाहरु र शिक्षण संस्थाहरुमा काम गरेकी थिइन् ।