बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना «

बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

हुम्ला र मुगुको सीमानाका नजिक रहेको मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको नाफामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्लासँग जोडिएको सिमानालाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना वरिष्ठ हवल्दार र चारजना सिपाही रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको छ ।
छायाँनाथ रारा नगरपालिका–१४ मा पर्ने बामगाउँ, फोइपाटा, दर्खेलबाडा, नाफा, सुम्लीगाउँ र लुमगाउँका बस्ती तथा १३ नम्बर वडाका केही बस्ती र छिमेकी जिल्ला हुम्लाको सीमासम्म पोस्टले शान्ति सुरक्षा प्रवाह गर्ने उनको भनाइ छ । अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले लामो समयको प्रयासपछि प्रहरी पोस्ट स्थापना गरिएको बताए । उनले भने, “लामो समयको अथक प्रयासपछि तत्कालका लागि अस्थायी पोस्टसम्म भए पनि स्थापना गर्न सफल भएका छौं ।”
बामगाउँदेखि नजिकै रहेको चंखेली हिमाल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, दूतताललगायतका पर्यटकीयस्थल र मुगु रेडक्रसदेखि हुम्लाको देउलीसम्मको ६७ किलोमिटर सडक खण्डका बस्तीका स्थानीयलाई अस्थायी प्रहरी पोस्टले शान्ति सुरक्षामा सहज हुने स्थानीयको भनाइ छ । प्रहरी पोस्ट स्थापना हुँदा गाउँघरमा हुने सामान्य झैझगडा, महिला हिंसा, चोरी सिकारीलगायतका सामान्यदेखि जटिल खाले घटना हुँदा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको बामगाँउका स्थानीय धनमासिंह बडुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्