Logo

नेपाली नेताले मन्डेलाबाट सिक्नुपर्ने पाठ

मन्डेला अर्थात् मादिवा २७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भएपश्चात् सन् १९९३ मा तत्कालीन अपरथेइड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचनअगावै ३५ बुँदे सम्झौता गरे । निर्वाचनमा उनको दल एएनसीले दुईतिहाइ बहुमत पाएको भए तापनि उनले सबै पक्षलाई समेटेर सरकार गठन गरे । आफूले शासनसत्ता सम्हालेको दुई वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकमाथि हुने विभेदको पूर्ण निषेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराए । उनले तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूर्ण विवादित सवाल तथा अफ्रिकी समाजमा विद्यमान विद्वेष र बेमेलहरूको हल गरेर अत्यन्तै छोटो समयमा संक्रमणकालको सही व्यवस्थापन गरे । गोरा जातिका खरो विरोधी नेता नोबेल शान्ति पुरस्कार विजेता डेस्मण्ड टुटुले भनेझैं ‘गहिरो रूपमा विभाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु’ मन्डेलाको सर्वाधिक र महŒवपूर्ण देन रह्यो ।
संघीयताको विषयमा मन्डेलाले भनेका थिए, “संघीयता भनेको इन्द्रेणीजस्तै सबै रंग मिलेको हुनुपर्छ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।” नभन्दै उनले दक्षिण अफ्रिकाको कुल जनसंख्याको लगभग ९ प्रतिशत ओगट्ने अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकहरूमाथि कुनै किसिमको भेदभाव गर्न नपाइने कडा मानव अधिकारहरूको ग्यारेन्टीसहित ११ वटा स्थानीय भाषाहरूलाई राष्ट्र भाषाको रूपमा संविधानमा किटान गरेरै मान्यता दिलाए । तीनवटा प्रमुख सहरहरू प्रिटोरिया, केपटाउन र ब्लुमफाउन्टेनलाई देशका समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटै राजधानीहरूमा क्रमश: राष्ट्रपति भवन, संसद् भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्तअनुरूप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकैसाथ अगाडि बढाउन पहलकदमी लिए ।
विडम्बना, नेपालका ठूला दलका ठूला नेताहरूचाहिँ उल्टो कदम चाल्न माहिर छन् । उनीहरू नेपालका आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, महिला, अल्पसंख्यक, पिछडिएको क्षेत्र र समुदायमाथि साह्रै अनुदारवादी रुझान राख्छन् । सदियौंदेखि थोपरिएका जातीय, धार्मिक, लिंगीय, क्षेत्रीय विभेद र शोषण, दमन, उत्पीडन र वहिष्करणको अन्त्य गरी उनीहरूका ऐतिहासिक पहिचानहरूको सम्मान एवं आईएलओ महासन्धि नं.–१६९, यूएनड्रिपलगायतका अन्तर्राष्ट्रिय महासन्धि र कानुनहरूले व्यवस्था गरेका प्रकृतिसम्मत हक–अधिकारहरूको ग्यारेन्टी हुने गरी नेपालको राज्य पुनर्संरचना गर्नुपर्नेमा सो मागलाई स्वीकार गर्न नसकी उल्टै जातिवादी र साम्प्रदायिक भएको आरोप लगाउन पछि पर्दैनन् । विगत २ सय ४० वर्षदेखि लादिएको एक जाति, एक धर्म, एक भाषा, एक वेशभूषा र एक संस्कृतिको शासनको निरन्तरताका लागि अनेक षड्यन्त्र गरेर संविधानसभाकै अवसान गराएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । त्यतिले नपुगेर जातीय स्वपहिचानको सम्मान र अधिकारको रक्षार्थ आन्दोलनरत जनतामाथि ‘धार्मिक, साम्प्रदायिक विद्वेष फैलाएको’ आरोप लगाउन र बदनाम गराउन शीर्ष नेतृत्वमा रहेका नेताहरू नै अग्रसर भए ।
मन्डेलाको भनाइ थियो, “ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नुपर्छ र त्यसको जिम्मेवारी सुम्पनुपर्छ ।” उनी सन् १९९० मा रिहा भएपछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रिल, १९९४ मा सम्पन्न आमनिर्वाचनपछि सोही वर्षको मे १० का दिन प्रथम अश्वेत राष्ट्रपति भए । गज्जबको कुरा, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे र सन् १९९९ को दोस्रो आमनिर्वाचनपूर्व नै आफू पुन: राष्ट्रपति नहुने घोषणा गरे भने उनले सन् २००४ मा आएर सार्वजनिक जीवनबाटै सहज रूपमा संन्यास लिए । खासमा जब मन्डेला सत्तामा आए, आफ्ना असंख्य काला समर्थक र सहयोद्धाहरूको आग्रहका बावजुद उनी र उनीजस्ता सयौं सहयोद्धाहरूलाई निर्मम यातना दिने र हत्या गर्नसम्म पछि नपर्ने अल्पसंख्यक गोराहरूलाई समेत उनले कहिल्यै कुनै विभेद गरेनन् । त्यसको एक उदाहरण थियो, सन् १९९४ को आमनिर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिस्ट पार्टीबाट चार जना सांसद मनोनीत गर्नु । उता आफ्ना पूर्ववर्ती गोरा कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाए भने हिंसामा मात्रै विश्वास गर्ने र सोहीअनुसार हिंसामा संलग्न इन्काथा फ्रिडम पार्टीका अध्यक्ष बुथोलेजीलाई गृहमन्त्री नै बनाएका थिए । त्यस्तै धेरै काला जातिको संहार गर्ने र प्रताडना दिने गोरा प्रशासक र कर्मचारीहरू कसैलाई कुनै भेदभाव नगरी राम्रै ओहदा र सम्मान दिएर सरकारी पदहरूमा निरन्तरता दिए । परिणामत: दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्यता र विद्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धतासहितको समृद्ध राष्ट्र निर्माण भयो ।

प्रतिक्रिया दिनुहोस्