देवतालाई मनाउन पुरानै संस्कार «

देवतालाई मनाउन पुरानै संस्कार

पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् ।
बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरूले पुरुषहरूले महिलाको पोषाक लगाउने र महिलाहरूले पुरुषको पोषाक लगाएर गाईया बेहेर्न अर्थात् गाई छेक्ने चलन छ । देवताहरूलाई मनाउन आफ्नो परम्पराअनुसार हरेक जातिहरूको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरूले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् ।
यो वर्षअसार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरूले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् । महिलाहरूले पुरुषहरूको पोषाक लगाउने र पुरुषहरूले महिलाको पोषाक लगाएर आफ्नो छिमेकी गाउँमा गाई, गोरु, भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाँउका मानिसहरूले आफ्नो बन्दक बनेका गोरु,भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारुले बताए ।
उनले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताउनु भयो । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा सुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाउँपालिका ४ फत्तेुिरका फट्टु थारुले बताए । उनले आफ्नो थारु संस्कृति अनुसार गीति गाएर पूजा गर्ने प्रचलनका बारेमा गीतमा नै जानकारी दिए । महिलाले पुरुको पोषाक र पुरुषले महिलाको पोषाक लगाउँदा इन्द्रदेव प्रसन्न भएको बैजनाथ गाँउपालिका ६ पेडारीका मइती थारुले पनि आफ्ना गीतमा नै समेटे ।
यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।

प्रतिक्रिया दिनुहोस्