आफ्नै दाजु–भाउजूको योजनामा भाइ र बुहारीको हत्या

बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुले २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षीय भाइबुहारी अञ्जली गडरियाको हत्या गरेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार राति कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित आफ्नै घरमा दाजु विजय र भाउजू रेखाको योजनामा भाई र बुहारीको हत्या भएको खुलेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय र भाउजू रेखाले भारतबाट दुई जना कन्ट्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ । उनीहरूको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । गडरिया दम्पतीको हत्या हुँदा माथिल्लो तलामा दाजु भाउजू विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाइ छ ।
मृतकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो । विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान् र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिए पनि भाइको पनि हत्या भएको उनले स्विकारेको प्रहरीले जनाएको छ ।