Logo

प्रदेशको नामकरणका विषयमा आरोप–प्रत्यारोप

प्रदेश–१ को नामकरणका विषयमा सांसदहरू नै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । विवादकै कारण अन्य प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश–१ को अझैसम्म न्वारान हुन सकेको छैन ।
अहिलेको प्रदेशसभाको कार्यकाल अब करिब ६ महिनामात्रै बाँकी छ । मंगलबारको प्रदेशसभामा धारणा राख्ने सांसदहरूले नामकरणको विषयमा एकअर्कालाई आरोप–प्रत्यारोपमा उत्रिएपछि नामकरणको विवाद अझै बढ्दै गएको छ । प्रदेशसभाको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले नामकरणको विषयमा आ–आफ्नो अडान यथावत राखेका छन् । यही अधिवेशनबाट नामकरणको विषय टुंगो लगाउने सार्वजनिक कार्यक्रमहरूमा भाषण गर्दै आएका दलका नेताहरूले अझै साझा नाम पहिल्याउन नसकेको स्पष्ट भएको छ । प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद वसन्तीदेवी यादवले जातीय विभेद नहुने गरी नामकरण गर्न माग गरिन् । उनले भनिन्, “प्रदेश–१ मा एउटा मात्रै जातिको बाहुल्यता नभएकाले जातीय आधारमा नामकरण भए आफूहरूलाई मान्य हुँदैन । सबैलाई स्वीकार्य हुने नाम राखिनुपर्छ ।”
सांसद सीतादेवी थेवे जवेगुले प्रदेशको नामकारणको विषयमा संसद भवनको वरिपरि आवाज उठिरहेको बताइन् । उनले नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिइन् । “संघीयता भनेको पहिचान पनि हो, त्यसो भएकाले पहिचानकै आधारमा प्रदेशको नामकरण हुनुपर्छ,” उनले थपिन्, “लिम्बुवान–किराँत जातीय नभई प्रदेश–१ को पहिचान, संस्कृति र सभ्यता हो ।” उनले विषयान्तर गरेर प्रदेशको नामकरण नगर्न खवरदारीसमेत गरिन् ।
सांसद शौभाग्यवती राईले विश्वका ठूला र विकसित देशहरूमा पनि विभिन्न जातका आधारमा प्रदेशको नामकरण गरिएको स्मरण गरिन् । उनले देशका नेताहरूलाई संघीयताको मर्मलाई मनन गर्न आग्रह गरिन् । पौराणिक तथा ऐतिहासिक आधारमा हेर्दा प्रदेश–१ को नाम किराँत राख्न राम्रो हुने जिकिर गरिन् । प्रदेशसभा बैठकमा नेकपा माओवादीका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद मोहनकुमार खड्काले कांग्रेस र माओवादीलाई लक्षित गर्दै देशमा दुईवटा धुन्धुकारी पार्टी रहेका कारण नेपालमा प्रदेशको नाम पहिचानका आधारमा हुन नसकेको आरोप लगाए । उनले किराँत कुनै जात नभएको भूगोल, पहिचान, सभ्याता र संस्कृति भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्