क्यालिब्रेसन फ्लाइट अक्टोबरमा «

क्यालिब्रेसन फ्लाइट अक्टोबरमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने भएको छ । रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानको लागि हाल रुख कटानको काम भइरहेको र १५ दिनभित्रमा रुख कटानको काम पूरा गरी डाँडा कटानको काम अगाडि बढाइने आयोजनाले जनाएको छ ।
६ सय रुखमध्ये ४ सय कटान भइसकेको र डाँडा कटानको लागि प्रक्रियामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनकर्मीले बताए । दुई हेक्टरमा फैलिएको सो डाँडाको दुई थुम्का कटानको लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ भने कटानको लागि बजेटसमेत विनियोजन भएको छ ।
डाँडा कटानको लागि तीव्र गतिमा काम अगाडि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गरेर नै कटानको काम अगाडि बढाउने गरी छलफल भइरहेको प्रमुख मुनकर्मीको भनाइ छ । उनले भने, “आगामी १५ दिनमा रुख कटानको काम पूरा हुन्छ । त्यसपछि डाँडा कटानको लागि प्रक्रिया सुरु हुन्छ । ४० मिटर डाँडा कटान गर्नुपर्ने देखिएको छ । सबै काम सकेर आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”
डाँडा कटानको काम पनि जारी राख्ने र प्राविधिक परीक्षणको प्रक्रिया पनि अगाडि बढाउने गरी काम गर्ने आयोजनाको तयारी रहेको मुनकर्मीको भनाइ छ । विमानस्थलको रनवेबाट पूर्वपटि करिब २ किलोमिटरको दूरीमा रहेको सो डाँडा विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई मध्यनजर गरेर कटान गर्नुपरेको प्रमुख मुनकर्मीले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डलाई अनुसरण गर्दा बाधा परेकाले डाँडा कटान गर्नुपर्ने देखिएको थियो ।
समुन्द्र सतहबाट ८ सय ५० मिटर रहेको दुई डाँडामध्ये एक साढे १२ मिटर र अर्को ४० मिटर काट्नुपर्ने देखिएको थियो । करिब ४० मिटर उचाइ कटान गर्नु पर्नेछ भने प्रारम्भिक सर्भेअनुसार ३ लाख ७० हजार घनमिटर माटो कटान गर्नु पर्नेछ । आधुनिक मेसिन प्रयोग गरी डाँडा कटान गरिने आयोजनाले जनाएको छ । दुई हेक्टरमा कहाँ कसरी कटानबाट निस्किएको माटो, ढुंगा व्यवस्थापन गर्ने भनेर स्थानीय तहसँग छलफल गरेर काम गर्ने योजना रहेको छ । माटो व्यवस्थापनको दूरीले लागत रकम कम वा बढी हुने निक्र्योल गरिने आयोजना प्रमुख मुनकर्मीको भनाइ छ ।
सन् २०२१ को जुलाई १० सम्ममा निर्माण पूरा गर्ने लक्ष्य आयोजनाको थियो । अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तिय प्रगति भएको छ । प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गाेलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ । गौरवको आयोजना पोखरा विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो । करिब २२ अर्ब लागतमा विमानस्थल निर्माण सम्पन्न हुन लागेको हो ।
यसबाट विमानस्थलको करिब २ किमि दुरीमा रहेको पोखराको स्यानिटरी ल्याण्डफिल्ड साइट हालसम्म पनि स्थानान्तरण गर्ने प्रक्रिया शुरु नभएकाले गर्दा सो क्षेत्रमा उडान तथा अवतरण गर्नमा समस्या हुने देखिएको छ । सो क्षेत्रको साइट स्थानान्तरणको लागि पोखरा महानगरपालिकाबाट ठाउँ छनोट भए पनि ठोस रुपमा कार्य अगाडि नबढेको जनाइएको छ । यसका लागि संघीय सरकारले महानगरपालिकालाई आवश्यक समन्वय एवं निर्देशन दिनुपर्ने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्