भिसा नवीकरण नभएका नेपालीको उद्धार «

भिसा नवीकरण नभएका नेपालीको उद्धार

कुवेतको खराफी नेसनल कम्पनीमा कार्यरत नेपाली कामदारहरू समस्यामा परेकामा तीमध्ये २० जनालाई राजदूतावासले उद्धार गरेको छ । उक्त कम्पनीसँग कुराकानी तथा समन्वय गरेर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमबाट हवाई टिकटको व्यवस्था गरी सोमबार उनीहरूलाई नेपाल पठाइएको दूतावासले जनाएको छ ।
सोही कम्पनीमा लामो समयदेखि आवासीय भिसा नवीकरण नभएका १७ जना कामदारहरूलाई राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पूरा गरी स्वदेश पठाइसकिएको पनि कुबेतस्थित नेपाली दूतावासले जनाएको छ ।
साथै, कुवेतमा रहेका नेपाली समुदायसँग सम्बद्व सिन्धुपाल्चोक सेवा समाज, दलित एकता संजाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा २ जना कामदारलाई नेपाल पठाइएको छ । त्यसअतिरिक्त अन्य २ जनालाई समेत राजदूतावासको पहलमा स्वदेश फिर्ता पठाइएको छ ।
खराफी नेसनल कम्पनीको सुलेबिया आयोजनामा कार्यरत रहँदा कम्पनीले आवासीय भिसा नवीकरण नगरेको तथा तलब नदिएको समस्या उल्लेख गर्दै राजदूतावासमा समस्या समाधानको लागि ९४ जना नेपाली कामदारहरूले निवेदन दिएका थिए । उल्लिखित कामदारहरूमध्ये हालसम्म २९ जना र उक्त कम्पनीको अन्य आयोजनाहरूमा कार्यरत ३२ जना गरी जम्मा ६१ जना नेपाली कामदारहरूलाई स्वदेश फिर्ता पठाइसकिएको छ । सो कम्पनीमा समस्यामा रहेका अन्य कामदारहरूको समस्या समाधान एवं स्वेदश फिर्तीका लागि राजदूतावासको प्रयास जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्