सरकार पत्रकारको साथमा छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताएका छन् । सोमबार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताएका हुन् ।
मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे । उनले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको बताए । उनले पत्रकारहरुलाई जीवनको उत्तराद्र्धमा सरकार आफ्नो साथमा छ भन्ने अनुभूति गराउन सकिएमा पत्रकारिता निर्भिकताका साथ अगाडि बढ्ने बताए ।