काठमाडौं र धरानको आवाज सबैले सुन्नुपर्छ : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएकमा हुन् ।
उनले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताए । सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए । उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वर भूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दु:खद् भएको बताए । सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको सुनाए ।
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको बर्ता । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए । सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखा परिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।