निजी क्षेत्रले बनाउँदै लामाबगर सुरुङमार्ग «

निजी क्षेत्रले बनाउँदै लामाबगर सुरुङमार्ग

सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले एक वर्षअघि सुरु गरेको लामाबगर सुरुङमार्ग आधाभन्दा बढी तयार गरेको छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो ।
११ सय मिटर लम्बाइको सी आधारमा निर्माण थालिएको ६ मिटर उचाइ र सात मिटर सुरुङमार्गको अहिलेसम्म ६ सय मिटर खनिएको एम दुगड् ग्रुपले जानकारी दिएको छ । ब्रुमरमार्फत सुरुङ खन्ने काम जारी छ । यही गतिमा काम भए अबको तीन महिनामा सुरुङ खुल्ने छ । एमभी दुगड् ग्रुपले बनाउन प्रस्ताव गरेको लप्चीखोला जलविद्युत आयोजनाले सुरुङमार्ग निर्माण सुरु गरेको हो । एमभी दुगड्ले लप्चीखोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणका लागि तयारी थालेको छ । लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले अहिले आयोजना आफैंले सुरुङमार्गको काम सुरु गरेको हो ।
यही आयोजनाले पहुँचमार्ग निर्माणका लागि तीनवटा स्काभेटर हेलिकप्टरमार्फत उडाएर आयोजनास्थल लुम्नाङ पुर्‍याएको छ । आयोजनाको बाँधस्थलदेखि हेडवक्र्ससम्मको नौ किलोमिटर ट्रयाक खोलेको छ । त्यसका लागि तेल पनि हेलिकप्टरमार्फत नै ढुवानी गरेको हो । दुईवटा स्काभेटर लामाबगरको माथिल्लो तामाकोसीको बाँधभन्दा माथि पुर्‍याइसकेको छ । त्यहाँ पनि सडक ट्रयाक खोल्न थालेको छ । तर मुखैमा सुरुङमार्ग परेकाले बोक्न पनि कठिन भीरको बाटो भएकाले कामले आयोजनाको कामले तीव्रता पाउन सकेको छैन ।
आउँदो बर्खासम्म सुरुङमार्ग छेडियो भने वन मन्त्रालयले रुख काट्ने अनुमति दिनासाथ आयोजनाको पूर्वाधारको काम सुरु गर्ने तयारी छ । १० वर्षदेखि सडक विभागले लामाबगर चीन बोर्डर जोड्ने सडकका लागि बजेट विनियोजन गरे तापनि तीन किलोमिटर ट्रयाकमात्र खोलेको छ । यो सुरुङमार्ग सरकारले बनाउने अध्ययन थाले पनि यो सरकारको अध्ययनमै सीमित भएको छ । सुरुङमार्ग तयार भएपछि थप ३० किलोमिटर सडक तयार हुँदा चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग तयार हुनेछ ।
तिब्बत सिमानामा ३० परिवारको दुई सयजनाको बसोबास छ । नेपालतिर आउने गोरेटोसमेत राम्रो छैन । लामाबगरदेखि सडक खुले स्थानीयलाई पनि र नाका खोल्न पनि सजिलो हुने स्थानीय कर्माहुसेर शेर्पाको भनाइ छ । लामाबगर नाका तिब्बतसँगको तातोपानी नाका खुल्नुभन्दा अघिको चल्तीको व्यापारिक नाका हो । अहिले पनि सरकारले चीनसँगको १० नाका खोल्नेमा लामाबगर पनि पर्छ ।
लामाबगरभन्दा माथि दुगड्को लप्चीखोलासहित सानिमा समूहको ५६ मेगावाटको जुमखोला, इनर्जी भेन्चरको ५२ मेगावाटको माथिल्लो लाप्चेखोला, अर्को ४० मेगावाट र अपर तामाकोसीकै रोल्वालिङ डाइभर्सनबाट आउने २२ मेगावाटको आयोजना छ । पहुँचमार्गकै कारण सबै आयोजनाले पूर्वाधारको काम थाल्न सकेका छैनन् ।
५२ मेगावाटको माथिल्लो लाप्चेखोलाको र विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता भएको समेत पाँच वर्ष पुगिसकेको छ । निजी क्षेत्र आफैंले सुरुङमार्गको काम सुरु गरेपछि ६ महिना सरकारी क्षेत्रबाटै काम रोकिएको थियो ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले भूकम्पपछि सडक भत्केपछि काब्रे भीरमा ३४० मिटर लम्बाइको सुरुङ पनि यही डिजाइनमा बनाएको छ । यसलाई पनि विस्तार गर्नसक्ने आयोजनाले बताएको छ । लप्चीखोला निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो आयोजना हो । यो आयोजनाको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।
सडक विभागले अन्तर्राष्ट्रियस्तरको राजमार्गको सुरुङमार्ग नौ सय मिटर बनाउन दुई अर्ब ४६ करोड लाग्ने अनुमानित रिपोर्ट तयार गरेको छ । तर सवारी चाप नभएले त्यसको तत्काल प्रतिफल नदिने भन्दै सरकारले लामाबगर सुरुङमार्गको फाइल थन्क्याएको छ ।

प्रतिक्रिया दिनुहोस्