दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ ।
कुल निकासीको झन्डै आधा हिस्सा भने भटमास, पाम र सूर्यमुखी तेलको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको निकासी व्यापारमा कम मूल्य अभिवृद्धि भएका वस्तुको परिमाण बढी भएको भन्दै आइतबारमात्रै व्यवसायीलाई सचेत हुन आग्रह गरेका थिए । तर, भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको हो ।
नेपालबाट भारततर्फ निकासी हुने सोयाबिन आयल, पाम आयल तथा सनफ्लावरको हिस्सा कुल निकासीको झन्डै ५० प्रतिशत छ । विभागका अनुसार गत आर्थिक वर्षमा ९३ अर्ब ६९ करोड ९६ लाख ६२ हजार रुपैयाँको सोयाबिन, पाम तथा सनफ्लावर आयल निकासी भएको छ । कुल निकासीमा यो ४६.८४ प्रतिशत हो । पाम आयल नेपालमा उत्पादन हुँदैन भने सोयाबिन र सनफ्लावर आयलको उत्पादन पनि नगण्य छ । जुन उत्पादनले नेपालको माग धान्न नसक्ने व्यवसायीहरू बताउँछन् ।
तेस्रो मुलुकबाट भित्रिने सोयाबिन, पाम तथा सनफ्लावर आयलको कच्चा पदार्थ आयातमा नेपालले गत आर्थिक वर्षमा मात्र १ खर्ब १५ अर्ब ५५ करोड ७९ लाख १५ हजार रुपैयाँ खर्चेको छ । यी तेलको स्वदेशमै पनि अत्यधिक खपत हुने भएकाले कति मूल्य अभिवृद्धि भई निकासी भयो भन्ने यकीन तथ्यांक भने छैन । व्यवसायीमाथि मूल्य अभिवृद्धिको तथ्यांक बढाइचढाइ गरेको आरोप लाग्ने गरेको छ । सरकारले पनि यस तथ्यलाई स्वीकार गरेको छ । प्रधानमन्त्री देउवाले आइतबारमात्रै नेपाल उद्योग परिसंघको कार्यक्रममा भनेका थिए, “विदेशबाट कच्चा पदार्थ भित्र्याई कम मूल्य अभिवृद्धि गरी निकासी गर्ने वस्तुभन्दा स्वदेशकै स्रोत तथा खानीको उपयोग गरी अधिकतम उपयोग गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्दछु ।”
भन्सार विभागका अनुसार नेपालले गत आर्थिक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख रुपैयाँ बराबरको कच्चा सोयाबिन आयल आयात गरी ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँको प्रशोधित तेल निकासी गरेको छ । यस्तै, ४१ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बराबरको कच्चा पाम आयल आयात गरी ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको निकासी गरेको छ । सनफ्लावर आयल भने नेपालमा अत्यधिक खपत हुने भएकाले आयातको तुलनामा निकासी झनै कमजोर रहेको छ । सनफ्लावर आयलको कच्चा पदार्थ तथा तयारी तेल आयात १८ अर्ब ६४ करोड ५३ लाखको रहेको छ भने निकासी मूल्य ४ अर्ब ५२ करोड ३४ लाख रुपैयाँमात्र रहेको छ ।
निकासीमा न्यून मूल्य अभिवृद्धिका कारण यो क्षेत्रले नगद प्रोत्साहन समेत पाउन सकेको छैन । नेपाल निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्का यस्ता वस्तुका कारण निकासी बढेको देखिए पनि यसले मुलुकलाई ठूलो फाइदा नहुने बताउँछन् । “निकासीको भोल्युम बढेको देखाउन मात्र यस्ता वस्तुलाई प्रोत्साहन गरिनु हुँदैन । मूल्य अभिवृद्धि हुने र सकेसम्म स्वदेशमै कच्चा पदार्थ उपलब्ध हुने वस्तुको निकासी प्रवद्र्धनमा जोड दिनुपर्छ,” महासचिव खड्का भन्छन् ।
बक्समा
बजेटभन्दा करिब एक खर्ब बढी व्यापारघाटा
नेपालले विश्वका १६४ देशबाट विभिन्न मालवस्तु आयात गर्दा गत आर्थिक वर्षमा व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । गत आवमा सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको थियो । जसलाई वर्तमान सरकारले केही कम गरेर १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट ल्याएको थियो । तर, भन्सार विभागका अनुसार गत आवमा व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको छ । जुन बजेटभन्दा करिब १ खर्ब नै बढी हो ।
अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर थियो । गत वर्ष नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । जसमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा २ खर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो ।