मरुभूमिमा नेपाली साग फलाउँदै रबिन «

मरुभूमिमा नेपाली साग फलाउँदै रबिन

सफलता एकैपटक हात पर्दैन । पसिना बगाएर पैसा उमार्नेहरू मेहनती हुन्छन् । परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता हात पार्नेहरूका आ–आफ्नै कथा छन् जुन अरूका लागि पनि प्रेरणा बनिरहेका हुन्छन् ।
मासिक ४५० दिराममा काम गर्थे रबिन संसारमा दुईथरी मान्छे हुन्छन् – टुप्पाबाट पलाउने र भुइँबाट फुल्ने । त्यो यस अर्थमा कि एकथरिले पैसासँग पैसा साँटिरहेका हुन्छन् अर्काथरिले पसिना बगाएर पैसा उमार्छन् । ‘मिहेनतको फल मीठो हुन्छ’ भन्ने उखानै छ । पसिना बगाएर पैसा उमार्नेहरू तिनै मिहेनती मानिस हुन् । त्यही मिहेनत गर्ने बानीको कारण आफ्नो देश नेपालमा केही गर्ने खोज्दा खोज्दै समय र पैसा दुबैले साथ नदिएपछि आफ्नो पारिवारिक आवश्यकता पूरा गर्न चितवन खैरेनीका रबिन केसी सन् २००६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) आए । युएईको प्रसिद्ध लेबर सप्लाई कम्पनी डुलसकोमा मासिक ४५० तलबमा काम गर्ने गरी ९५ हजार रुपैंया नेपाली पैसा मेनपावरलाई बुझाएर साधारण मजदुर भिसामा रबिन यहाँ आएका थिए । साहुको ऋण चुक्ता गर्न झन्डै २२ महिना त्यही कम्पनीमा काम गरे । जागिर कहिले एक ठाउँमा त कहिले अर्को ठाउँमा हुने र कामको कुनै टुंगो नहुने सप्लाई कम्पनीमा २२ महिना काम गरे पछि रबिनले युएईकै अर्को प्रसिद्ध कम्पनी अल फतिम मोटरमा नयाँ जागिर पाए । ठूलो र प्रसिद्ध कम्पनी भए पनि रबिनसंग पर्याप्त शिक्षा र कामको अनुभव नभएको कारण उनलाई साधारण वायरहाउस असिस्टेन्टको काम लगाइयो । झन्डै ७ वर्ष त्यस कम्पनीमा जागिर गरेपछि रबिनले खाई नखाई केही पैसा जम्मा गरेर युएईको सवारी अनुमति पत्र (युएई ड्राइभिङ् लाइसेन्स ) लिए । लाइसेन्स त लिए तर उनले भने जस्तो तलब र सुविधा पाएनन् । त्यसपछि आफ्नो योग्यता र सीप अनुसारको जागिर खोज्दा खोज्दै धेरै समय युएईमा बिताएको अनुभव सुनाउँछन् रबिन । कहिले तलब कम त कहिले पायक नपर्ने काम पाए पनि रबिनले अन्ततः आफ्नो योग्यता अनुसारको सवारी चालकको काम पाए । युएई दुबईस्थित आरटीए कम्पनीमा ड्राइभरको काम पाउन सफल भए । लगभग एक साल जति आरटीए कम्पनीमा ड्राइभरको काम गरेपछि रबिनको इमान्दारी र मिहिनतको कदर गर्दै कम्पनीले उनलाई सवारी चालकबाट सवारी तालिम प्रशिक्षकमा बढुवा ग¥यो ।
मरुभूमिमा हरियो रायोको कल्पना
जिन्दगीका विभिन्न आरोहअवरोहहरू बीच संघर्ष गर्दै झन्डै १० वर्ष रोजगारी गरेपछि रबिनको मनमा अब जागिर होइन केही व्यवसाय गर्नु पर्छ भन्ने सोच आएछ । उनी भन्छन् ‘’मलाई व्यवसाय गर्ने केही आइडिया थिएन, न यो मेरो बाजेबराजुले नै गरेका थिए, न मैले नै ।’’ उनी भन्छन् ‘‘जब म त्यो ४५० तलबमा डुलासको कम्पनीमा काम गर्थें त्यो बेला हाम्रो कम्पनीको एक छेउमा एउटा पाकिस्तानीले हरियो साग उमारेको थियो । कहिलेकाहीं हामीलाई पनि साग पकाएर खुवाउने गथ्र्यो । त्यही बेलादेखि मैले पनि यो ठाउँमा गर्दा चाहिँ हुने रहेछ भन्ने सोचेको थिएँ ।’’
सन् २०१६ देखि एक पाकिस्तानी नागरिकसंग मिलेर युएईको अल एन क्षेत्रमा चार बिघा जमिन भाडामा लिएर युएईमै पहिलोपल्ट रायोको सागको खेती सुरु गरे । केसीले हाल युएईका विभिन्न प्रान्तहरूमा नेपाली रायोको साग बिक्री गर्दछन् । उनी युएईको दुबईदेखि अबुधाबी, सारजहाँ हुँदै अजमानसम्मका ठुल्ठुला सुपरमार्केट र ग्रोसरीहरूमा अहिले नेपाली रायोको हरियो साग सप्लाई गर्ने गर्छन् । उनको दुईवटा डेलिभरी गाडी पनि लिएका छन् । ४ बिघा जमिनमा खेतीको काम गर्न ६ जना पाकिस्तानी नागरिकलाई जागिर पनि दिइरहेका छन् ।
मासिक ११ हजार दिराम भाडामा लिएको उक्त जमिनबाट रबिनले सिजनमा प्रतिदिन २ हजार मुठासम्म रायोको साग बिक्री गर्ने गर्छन् । उनको युएईको बरदुबई स्थित आइटी सेन्टर बिल्डिङको अगाडिपट्टि कालिमाटी फुड स्टप नामक अर्को कम्पनी पनि रहेको छ । उनले खेतीबाट उत्पादित साग तथा फलफूलहरू त्यही पसलबाट बिक्री वितरण गर्ने गर्छन् ।
युएईको मरुभूमिमा हरियो रायोको साग कसरी सम्भव छ भनेर हामीले प्रश्न गर्दा रबिन भन्छन् ‘‘सिंचाइका लागि ६ वटा बोरिङ लगाएको छु अनि यो रायोको साग चाहिँ सिजनेबल हो । यो अक्टोबर महिनादेखि अप्रिलको अन्त्यसम्म खेती गर्न सकिन्छ ।’’
रबिनले संचालनमा ल्याएको कालिमाटी फुड स्टफ एक वर्ष पुगिसकेको छ । उनी भन्छन् ‘‘व्यवसाय हो, नाफाघाटा त भइ नै हाल्छ तर यो भन्दा पनि मलाई आफ्नै नेपाली दाजुभाइहरूको सहयोग नपाएकोमा भने धेरै दुःख लाग्छ ।’’ उनी थप्छन् ‘‘मेरो पसलमा फलफूलदेखि लिएर दैनिक भान्सामा प्रयोग हुने साग, आलु, प्याज, टिमुर, गुन्द्रुक, मस्यौरा, चम्सुर, धनिया, टमाटर सबै पाइन्छ तर नेपालीहरू हामी नेपालीहरूको व्यवसायलाई सहयोग गर्नु त कता हो कता बरू भारतीयहरूको ग्रोसरीबाट सामान लान्छन् । मैले त अझ बदुबाई एरिया र सकिने ठाउँसम्म फ्रि होम डेलिभरी सर्भिस पनि दिएको छु । तैपनि नेपालीहरू खासै आउँदैनन् ।’’
रबिनले संचालन गरेको उक्त कालिमाटी फुड स्टफमा अन्य पसल र सुपरमार्केटमा पाउने सबै प्रकारका तरकारीका प्रकारहरू पाउन सकिन्छ भने हरियो रायको साग प्रतिमुठा ५ दिरामको सहुलियत दरमा पाउन सकिन्छ ।

भूपराज बस्याल

प्रतिक्रिया दिनुहोस्