कतै वर्षा, कतै खडेरीले किसान चिन्तित

गएको मंगलबार कारोबार अनलाइन टेलिभिजनमा प्रसारण भएको थियो, बाँकेको जानकीमा आकाशे पानी नपरेपछि किसानले रोपेको धान पनि सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिनै लाग्दा पनि ढलको पानी सिँचाइ गरेर भए पनि धान रोप्न किसानहरू बाध्य भएका हुन् । बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धानखेती गरिएको थियो, तर यो वर्ष पानी नपर्दा असारको अन्तिमसम्म आउँदा ४० प्रतिशत मात्रै धान खेती भएको कृषि ज्ञान केन्द्र, बाँकेले जनाएको छ । किसानहरूले यो वर्ष मलखाद नपाइरहेको गुनासो गरिरहेको अवस्थामा आकाशे पानी पनि नपरेपछि रोपेको धान पनि सुक्न थालेको हो । त्यति मात्रै होइन, धान रोपाइँ भएको गराहरू पनि फाटेर चिरा–चिरा पर्न थालेको छ । यसले गर्दा किसानहरू अत्यन्तै चिन्तित भएका छन् । तर, गत वर्ष भने बाँकेमा यही समयमा ९० प्रतिशतसम्म धान रोपाइँ भएको थियो ।
केही वर्षदेखि बेमौसमी मनसुनमा देखिएको परिवर्तनले गर्दा मुलुकका विभिन्न ठाउँमा कतै खडेरी त कतै वर्षाले जलमग्न भएको छ । मौसममा देखिएको परिवर्तनले गर्दा मुलुकभित्र कुनै ठाउँमा अत्यधिक मेघ गर्जनसहित पानी पर्ने, कुनै ठाउँमा चर्को घाम लाग्ने, हिमाली र मध्यपहाडी भागहरूमा बाढीपहिरो जाने र कतै खडेरी परी पानी नपरेर अन्नबाली पनि सुकेर जाने जस्ता समस्याहरू देखिँदै आएका छन् । असार, साउन, भदौ महिना भनेको मौसमी वर्षा सुरु हुने समय भए पनि बाँकेको जानकीलगायतका क्षेत्रहरूमा पानी नपरेर खडेरी पर्नु दु:खको कुरा हो । सरकारले विकास बजेट खर्चै गर्न सकेन, संशोधित अनुमान भेट्टाउन अझै ५१ प्रतिशतभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता भन्ने समाचार सुन्दा त जब चालू आर्थिक वर्षको मसान्त सकिनै लागेको अवस्थामा विकास निर्माणमा छुट्टिएको बजेट फ्रिज हुने डरले धमाधम सरकारले छुट्ट्याएको बजेटको ठाउँठाउँमा छिटोछिटो काम गरिरहेको अवस्था छ । तर, ठूला–ठूला आयोजनामा भने विकासको गति उस्तै गतिमा रहेको देखिन्छ ।
अहिलेको मुख्य समस्या भनेको मौसमी वर्षाको समय भएकाले ठाउँठाउँमा बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति जाने क्रम बढेकाले यस्ता समस्या रहेका ठाउँमा चाहिँ तत्काल समस्याको समाधान गर्नुपर्ने देखिन्छ । नारायणगढ–मुग्लिन सडक खण्डमा बर्सेनि पहिरो जाँदा त्यहाँ सयौंको संख्यामा रहेको सवारी आगमन अवरुद्ध हुन्छ । भौतिक तथा मानवीय रूपमा पनि क्षति निम्तिन्छ । तर, यस्तो समस्या आउने ठाउँहरूमा तत्काल पूर्वतयारी गर्नुपर्ने देखिन्छ । हिमाली तथा पहाडी भेगबाट बग्ने नदीको उच्च बहावले तराईका धेरै जिल्लामा बाढीले वितण्डा मच्चाएर धेरै परिवारको बिचल्ली बनाएको घटना बर्सेनि सुनिँदै आएको छ । यसको गतिलो उदाहरण गएको वर्ष मेलम्ची बजारलाई पनि लिन सकिन्छ । त्यहाँका बासिन्दाको पीडा अझै सेलाइसकेको अवस्था छैन । यस्ता प्रकृतिक विपत्तिको जोखिमबाट बच्न र राहतका लागि पुनस्र्थापना गर्न तत्काल ध्यान दिनु जरुरी देखिन्छ । त्यतिमात्र होइन, पछिल्लो समय राजधानीभित्रै पनि बर्सातको समयमा धेरै साना तथा ठूला खहरे खोल्साहरूमा बग्ने पानीको निकासमा समस्या आई राजधानीका ठाउँठाउँमा जलमग्न हुने गरेका घटनाहरू देख्दै र सुन्दै आएका छौं । यस्तो अवस्थामा सम्भाव्य जोखिमलाई न्यूनीकरण गर्न तत्काल समस्याको समाधान खोज्नु जरुरी छ । यसमा स्थानीय सरकार होस् या प्रादेशिक सरकार, प्राकृतिक विपत्तिको समाधान र न्यूनीकरणमा जोड दिनु अत्यन्तै जरुरी पनि छ ।