पाल्पामा बस पल्टिँदा ६ जनाको मृत्यु «

पाल्पामा बस पल्टिँदा ६ जनाको मृत्यु

पाल्पामा आइतबार साँझ बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीको अनुमान छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो । मृत्यु भएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेको खुलेको छ । १६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ।
दुर्घटनाका घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको हो । घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

रुख ढलेर बस र स्कुटर किच्दा तीनको मृत्यु
भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नम्रको स्कुटर थिचिएका थिए । बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमै मृत्यु भएको हो । धेरै वर्ष पुरानो रुख आइतबार दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।
बक्स
तीन किशोरीको आत्महत्यापछि गाउँ शोकमा
झापाको कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आइतबार बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको हो ।
स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । आइतबार बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन ।
उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको छ । “नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो । यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए । एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ,” उनले भने । उनले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताए ।
मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताए । अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् । अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्