निकासीमा देखिएको विकृति नियन्त्रणमा जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले निकासीका क्षेत्रमा देखिएको विकृति नियन्त्रणमा जोड दिएका छन् । विदेशबाट कच्चा पदार्थ भित्र्याई कम मूल्य अभिवृद्धि गरी निकासी गर्ने वस्तुभन्दा स्वदेशकै स्रोत तथा खानीको उपयोग गरी अधिकतम मूल्य अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
तत्कालीन नाफामा भन्दा दीर्घकालीन लाभ हेरेर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री देउवाले विदेशमा उत्पादित महँगा र विलासी वस्तु आयात गर्ने प्रवृत्ति त्यागेर स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे । “कोभिड महामारीपछि अर्थतन्त्र शिथिल भएको छ र यतिबेला बाह्य क्षेत्रमा चाप परेको छ,” आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारणभा उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “व्यापार घाटा, ऋणात्मक शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति लगायत प्रतिकूल अवस्थामा रहेकाले निजी क्षेत्रले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्नुपर्छ ।” प्रधानमन्त्रीले निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिका लागि पूर्वाधार तथा नीतिगत सुधारका लागि सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।
सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीति सहयोगी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले मौद्रिक नीतिले सहुलियत दिएका क्षेत्रलाई अधिकतम उपयोग गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे । कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरण एवं औद्योगिक उत्पादन तथा निकासी वृद्धिका निमित्त निजी क्षेत्रले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ । उनले विद्युत उपयोग बढाई पेट्रोलियम आयात कम गर्ने सरकारको नीतिमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक वातावरण निर्माणका लागि संसद्मा रोकिएका आर्थिक क्षेत्रसँग सम्बन्धित विधेयक तत्काल पारित गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । सरकार र निजी क्षेत्रबीच अधिकतम सहकार्य गर्दै मुलुकको साधन स्रोतको उपयोगितामा उनले जोड दिए ।
परिसंघका प्रेसिडेन्ट एमिरेट्स तथा सांसद विनोदकुमार चौधरीले सरकारको एकाधिकार रहेको क्षेत्रबाट उपभोक्तालाई दु:खमात्र भइरहेको उल्लेख गर्दै प्रतिस्पर्धात्मक वातावरण निर्माणका लागि आग्रह गरे । “सरकारको एकाधिकार रहेको पेट्रोलियम पदार्थदेखि रासायनिक मलसम्मको अवस्था हेरौं, बर्सेनि उही समस्या दोहोरिइरहेका छन्,” चौधरीले भने, “हामीले सरकारी संस्थान निजीकरण चाहेको भनेर नबुझियोस् तर हरेक सेवामा आपूर्तिमा प्रतिस्पर्धा चाहिन्छ र त्यो व्यवस्था सरकारमा पनि लागू हुनुपर्छ ।” उनले पेट्रोलियम पदार्थ र रासायनिक मलको क्षेत्रमा जुनसुकै मोडलमा भए पनि प्रतिस्पर्धा गराइनुपर्ने माग गरे । चालिसौं वर्ष राष्ट्रवादका नाममा जलस्रोतमा एकाधिकार रहेकै कारण मुलुकले १८ घन्टे लोडसेडिङ बेहोरेको उल्लेख गर्दै चौधरीले निजी क्षेत्र सहभागी भएकै कारण हालैमात्र ३ अर्बको बिजुली निर्यात भएको दाबी गरे । उनले पर्यटन र जलस्रोत नै व्यापार घाटा न्यूनीकरणको क्षेत्र रहेको उल्लेख गर्दै नेपालका चारवटा विमानस्थल उपयोग गरेर ५० लाख पर्यटक भारत र चीनबाट मात्र भित्र्याउन सकिने धारणा राखे ।
निर्यात क्षेत्रमा नगद प्रोत्साहनको सकारात्मक प्रभाव देखिन नसकेको उल्लेख गर्दै उनले उत्पादनकै तहमा प्रवद्र्धनात्मक नीति आवश्यक रहेकोमा जोड दिए । उत्पादनका लागि नीतिगत व्यवस्थाले सिमेन्ट र छडमा चाँडै परिणाम देखिएको उल्लेख गर्दै चौधरीले औद्योगिक क्षेत्र वा विशेष आर्थिक क्षेत्रको पूर्वाधार कमजोर रहेको भन्दै त्यसले लगानीकर्तालाई आकर्षित गर्न नसकेको धारणा राखे ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निकासीमा अनुदान बढाउने सरकारको कार्यक्रमको प्रसंशा गर्दै यसले तत्कालै परिणाम देखाउन थालेको बताए । “सिमेन्टपछि नेपालबाट भारतमा छडको निर्यात पनि सुरु भएको छ । निजी क्षेत्रलाई थोरै प्रोत्साहन गर्दा नै त्यसको सकारात्मक प्रभाव पर्छ भन्ने यो एक ठोस उदाहरण हो,” उनले भने, “यसबाट अब विस्तारै अन्य स्वदेशी उत्पादन विदेश निर्यात हुनेछन् र व्यापार असन्तुलन न्यून गराउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।” यस्तो सुविधा मूल्य अभिवृद्धि गर्ने अन्य स्वदेशी उत्पादनहरूलाई पनि दिनुपर्ने उनको भनाइ छ ।
अग्रवालले विदेशी मुद्रा आर्जन गर्ने र व्यापार घाटा न्यूनीकरणमा सहयोग गर्र्नेे महत्वपूर्ण क्षेत्र ऊर्जा भएको उल्लेख गरे । भारतमा विद्युत निर्यात गरेर पाँच वर्षपछि ७० अर्बको विद्युत निर्यात गर्ने प्रक्षेपण रहेको तथा यसले सम्भावना देखाएको उनको भनाइ छ । यस्तै, युरोपेली युनियनले हवाई सुरक्षा सूचीमा राख्दा नेपाल भ्रमणमा आउन चाहने पर्यटकले महँगो बिमा शुल्क तिर्नुका अतिरिक्त नेपाल भ्रमणमा नै शंका गरिरहेको अवस्था रहेकाले यसको अन्त्यका लागि उनले आग्रह गरका छन् ।