तनहुँ हाइड्रोको पीपीए हुने

एक महिनाभित्र तनहुँ हाइड्रोपावर लिमिटेडले अघि बढाएको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) हुने भएको छ ।
मस्यौदा तयार भइरहेकाले एक महिनाभित्र अर्थात् फेबु्रअरी अन्त्यसम्म पीपीएमा हस्ताक्षर हुने कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । “पीपीए मस्यौदा केही साताभित्र नेपाल विद्युत् प्राधिकरणमा पेस हुनेछ,” उनले भने, “सम्झौता लगत्तै ठेक्का प्रक्रियाको काम सुरु हुनेछ ।” प्राधिकरणले जलाशय आयोजनाको पीपीए बर्खामा प्रतियुनिट ७.१० रुपैयाँ र हिउँदमा १२.४० रुपैयाँ तोकेको छ ।
आयोजनाको हिउँदको ऊर्जा कम हुने हुँदा पीपीए दर त्यहीअनुसार कायम हुनेछ । बर्खाको ऊर्जा अनुपातमा समायोजन गरी हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा करिब प्रतियुनिट ६.१२ रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको १४० मेगावाटको उत्पादन अनुमतिपत्र पनि पाइसकेको छ । ऊर्जा मन्त्रालयको २०७४ पुस १३ गतेको निर्णयले अनुमतिपत्र दिएको हो ।
कम्पनीसँग यसअघि आयोजनाको १२७ मेगावाटको अनुमतिपत्र थियो । यसैगरी, कम्पनीले मे महिनाभित्र पहिलो र दोस्रो लटको ठेक्का सम्झौता गर्ने तयारी गरेको छ । आयोजनास्थलमा आवास पहुँचमार्ग तथा निर्माण गर्न आवश्यक विद्युत्समेत व्यवस्थापन भइसकेको छ । पहिलो प्याकेजअन्तर्गत आयोजनाको हेडवक्र्स, पावरहाउस पर्छ भने दोस्रो प्याकेजमा विद्युत्गृह र आयोजनाको सुरुङ निर्माण तथा इलेक्ट्रो मेकानिकल इक्विपमेन्ट आयात र जडान पर्छ ।
पहिलो प्याकेजमा एडीबी र दोस्रोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोग रहनेछ । पहिलोमा छनोट भएका ठेकेदारको अन्तिम मूल्यांकन तथा स्वीकृतका लागि एडीबी पठाइएको छ । यस्तै, दोस्रो प्याकेजको स्वीकृत गर्न जाइका पठाइएको छ । पहिलो प्याकेजको प्राविधिक मूल्यांकनको स्वीकृत आउने तयारीमा रहेको प्रबन्ध निर्देशक थिकेले जानकारी थिए । उनका अनुसार यसपछि कम्पनीहरूको आर्थिक प्रस्ताव खोलिनेछ ।