हिमाको प्राथमिकतामा गुणस्तरीय शिक्षा «

हिमाको प्राथमिकतामा गुणस्तरीय शिक्षा

नेपालको संविधान, २०७२ को धारा २९५ (३) बमोजिम स्थापना भएका मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये एक हो, जुम्लाको हिमा गाउँपालिका । यस पालिकाको पूर्वमा तिला गाउँपालिका, पश्चिममा कालिकोटको पलाँता गाउँपालिका, दक्षिणमा कालिकोटकै तिलागुफा नगरपालिका र उत्तरमा सिंजा गाउँपालिका पर्छन् ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित हिमा गाउँपालिका जनप्रतिनिधिले १२ औँ गाउँसभामा हिमाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकता दिएर निर्णय गरेका छन् । अध्यक्ष लक्ष्मण शाही भन्छन्, “समाजमा हुनेखाने र हुँदा खानेबीचको विभेद अझै कायम छ । त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा देखियो । धनी र गरिबले आर्जन गर्ने शिक्षामै विभेद छ, जसका कारण समाज रूपान्तरण चुनौतीपूर्ण बन्दै गयो । त्यसैले हिमाको शैक्षिक क्षेत्र सुधारमा विशेष जोड दिएका छौं । पाँच वर्षमा शिक्षा क्षेत्रमा देखिने खालका सफ्टवेयर तथा हार्डवेयरका थुप्रै काम गर्ने योजना छ ।”
जुम्लाका आठै पालिकामध्ये शिक्षा, विकास निर्माण र सेवा प्रवाहमा जिल्लाकै नमुना बन्ने कसरतका साथ काम अघि बढाइएको अध्यक्ष शाहीले जानकारी दिए । उनका अनुसार हिमाका २२ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिनेछ । प्रत्येक विद्यालय डिजिटल हाजिरी, फ्री वाइफाइ, सीसी क्यामेरा जडान गरिनेछ ।
विषयगत शिक्षकलाई पठनसीप तालिम, विद्यालय सुधार योजना निर्माण, अभिभावक सेचतनासँगै गुणस्तरीय शिक्षा प्रदानमा पालिकाले माटो रकम लगानी गर्नेसमेत अध्यक्ष शाहीको भनाइ छ ।
चालू आवमा शिक्षा क्षेत्रलाई नै पहिलो प्राथमिकता दिएर ३९ करोड ८० लाख ८५ हजार विनियोजित भएको छ । हिमाको आफ्नै शिक्षा नीतिअनुरूप प्रविधिमैत्री शिक्षादेखि बालबालिका घरदेखि झिकाउ, स्कुलमा टिकाउ, अरूलाई सिकाउ र बजारमा बिकाउ हुने जनशक्ति उत्पादन गर्न व्यावहारिक शिक्षामा लगानी गरिनेछ । चालू आवबाटै हिमाका दुईवटा विद्यालय अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको छ ।
साथै, हिमा गाउँपालिकालाई विकास र सेवा प्रवाहमा कर्णालीकै नमुना पालिका बनाउने लक्ष्यका साथ हिमाका कर्मचारी र जनप्रतिधि जुटेका छौं । अध्यक्ष शाहीले थपे, “कुनै पनि कर्मचारीले बिनासर्त छिटोछरितो सेवा दिनेछन् । हेल्पडेस्कको स्थापना गरेका छौं भने सुनुवाइलाई प्रभावकारी बनाइनेछ । विकास निर्माणलाई विगतको भन्दा केही पृथक् गर्ने पनि योजना छ ।”
चुनावी घोषणापत्रलाई व्यवहारमा उतार्न र कार्यकालपछि जनतालाई हिसाब दिनका लागि अनुसार शिक्षासँगै कृषि, खानेपानी, सिँचाइ, रोजगारी सिर्जना, भ्रष्टाचार न्यूनीकरण तथा सशाासन पारदर्शितामा शून्य सहनशीलता क्षेत्रमा विगतको सरकार भन्दा देखिने गरी काम गर्नेसमेत अध्यक्ष लक्ष्मण शाहीको प्रतिबद्धता छ ।
त्यस्तै हिमाका ७ वटै वडा आफ्नै भवनमा सञ्चालित छन् । यद्यपि ३ वटा वडा भवन भने पुरानो गाविस भवनमा छन् । तर, आफ्नो दुईवर्ष कार्यकालभित्र हिमाको प्रशासकीय भवन बनाएरै छाड्ने अध्यक्षको संकल्प छ । पाँचतले सुविधासम्पन्न प्रशासकिय भवन ९ करोड ५८ लाखमा निर्माण हुने डीपीआर तयार भइसकेको छ ।
बढ्दो जलवायु परिवर्तनबाट बच्न, वातावरण संरक्षण गर्न तथा बाढी, भूक्षयजस्ता घटना न्यूनीकरण गर्न ‘ग्रिन रोड ग्रिन रिभर’को नीतिअनुसार पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियानसमेत थालनी गरिएको उनको भनाइ छ ।
सीमित स्रोत र असीमित नागरिकका आवश्यकता परिपूर्ति गर्नुपर्ने स्थानीय सरकारलाई चुनौती छ । उपाध्यक्ष सुर्पना शाहीले भनिन्, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जनताले महसुस गर्ने खालका आधारभूत विकासमा जोड दिन्छांै । न्यायिक कार्य सम्पादन प्रभावकारी बनाउन तथा घरघरमा गाउँगाउँमा संघीयताको अनुभूति हुने गरी काम गर्न हिमाका सबै जनप्रतिनिधि तयार छांै ।”
हिमाका ७ मध्ये ६ वटा वडामा स्वास्थ्य केन्द्र रहेका छन् भने ३ वटा बर्थिङ सेन्टर सञ्चालित छन् । १५ शय्या अस्पताल निर्माणका लागि पहल भइरहेको छ, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बूढाले बताए । उनका अनुसार विकासको अन्त्य गर्न हिमाका जनप्रतिनिधि कर्मचारी एकमत छन् ।
त्यस्तै हिमाका प्रत्येक नागरिकको नि:शुल्क स्वास्थ्य बिमा, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, वडा कार्यालयमा सीसी क्यामेरा र डिजिटल हाजिरी जडान, अंग्रेजी माध्यमको पढाइ सञ्चालनजस्ता चुनावी घोषणापत्रलाई अक्षरश: पालना गरिनेसमेत अध्यक्ष शाहीको प्रतिबद्धता छ ।
घोषणापत्रअनुसार काम नगरे जीवनमा राजनीति नगर्ने र पाँच वर्षपछि घोषणापत्रअनुसारको काम हेर्न आउन नागरिकलाई आउन उनको अपिल छ ।
झन्डै १२८.०९ वर्गकिमिमा छरिएर रहेका हिमाका सबै विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन, पर्यटन प्रवद्र्धनका गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिनेछ । गाउँगाउँमा सिंहदरबार झल्काउने, नागरिकलाई संघीयताको महसुस गराउने र सेवा प्रवाहलाई छिटोछरितो गर्न डिजिटल प्रणाली लागू गरिनेछ । विगतका सरकारले राम्रा कामको अनुसरण गर्दै विगतको भन्दा थप राम्रा र प्रभावकारी देखिने खालका काममा हिमा सरकार केन्द्रित रहनेछ ।

कारोबार मेरो पालिक
प्रदेश : कर्णाली
पालिका : हिमा गाउँपालिका
अध्यक्ष : लक्ष्मण शाही
उपाध्यक्ष : सुर्पना शाही
प्रमुख प्रशासकीय अधिकृत : रणबहादुर बूढा
वडा संख्या : ७
बजेट : ३९ करोड ८० लाख ८५ हजार
क्षेत्रफल : १२८.०९ वर्गकिमि
जनसंख्या : १२ हजार ६ सय १२


प्रतिक्रिया दिनुहोस्