वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा ल्याउन सम्झौता «

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा ल्याउन सम्झौता

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।
नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको जनाउदै उनीलाई क्रमश: सामाजिक सुरक्षा योजनामा ल्याउन बिहिबार २ संस्था बीच सम्झौता भएको हो । करिब ४६ लाख नेपालीहरू खाडीमुलुक, मलेसिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेको र बर्सेनि करिब ४ लाख संख्याको हाराहारीमा देशका युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजागर बिभागको तथ्यांकमा उल्लेख छ । सम्झौतामा भूमण्डलीकरणको उच्चतम अभ्यासमा रहेको आजको विश्वमा सेवा र सुविधामा राष्ट्रियताको आधारमा बिना भेदभाव श्रमको परिचालन गर्नुपर्ने विश्व श्रम संगठनको अभिसन्धिको व्यवस्थाअनुसार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गराउन सकिने विश्वास लिइएको उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. १३६ र १९० को व्यवस्था अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, श्रमिक गन्तब्य देशसँग पारस्परिक सम्झौता सम्बन्धमा नीतिगत आधार तयार गर्न सहयोग गर्ने र त्यस्तो दायरामा भित्र नपर्ने श्रमिक वा कोषमा आबद्ध हुन चाहने श्रमिकलाई तोकिएको योगदानमार्फत कोषमा आबद्ध गराउने उल्लेख छ । एनआरएनएको सातौं विश्व सम्मेलनमा घोषणा भएअनुसार हजारे अभियानमार्फत वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न कोषसँग सहकार्यमार्फत गरिने अध्ययन अनुसन्धानलगायत अन्य क्रियाकलापमा कोष र संघबिच आपसी सहकार्य गर्नु गराउनु समझदारी गरिएको उल्लेख छ ।

सम्झौतामा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गराउने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल, अध्ययन समूह वा समिति उपसमितिमा संघका प्रतिनिधिसमेत समावेश गराई संयुक्त रूपमा अध्ययन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
एनआरएनएले बैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरूको सामाजिक सुरक्षासम्बन्धी विषयमा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय गोष्ठी, अन्तरक्रिया, छलफल तथा अन्य कार्यक्रमहरूमा कोषलाई सहभागी गराउनेछ र कोषमार्फत गराउन सकिने विषयको बजारीकरण गर्ने व्यवस्था मिलाउने छ । संघले गर्ने बैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरूमा कोषले सोसम्बन्धी सूचना तथा जानकारीहरू आवश्यकताअनुसार उपलब्ध गराउनेछ र सो विषयमा प्रस्तुतीकरण समेत गर्ने जनाइएको छ ।
वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको योगदान रकम कोषमा ल्याउने प्रकृया सरलिकृत गर्न संघ र संघअन्तर्गतका अन्य निकायहरूबाट कोषले आवश्यकता अनुसार सहयोग प्राप्त गर्ने छ । समझदारीपत्र कार्यान्वयनका लागि कोष र संघबाट आफू अधिनस्थ सम्बन्धित सबै निकायहरूलाई जानकारी गराई कार्यान्वयनको व्यवस्था मिलाइने जनाइएको छ । वैदेशिक रोजगारिमा रही सामाजिक सुरक्षा कोषको दायरामा रहेका श्रमिकहरूको विदेशमा रहँदा वा स्वदेश फिर्ती पछिको जीवनलाई सुरक्षित र व्यवस्थित वनाउने गरी आर्जित सिपलाई उपयोग गर्दै उद्दमशीलता प्रवर्धन र थप रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य रहेको सम्झौता उल्लेख गरिएको छ । उनीहरूको जीवन चक्रमा आईपर्ने जोखिम व्यवस्थापनको लागि अध्ययन अनुसन्धान गरी योजनाहरू विकास गर्ने, समझदारीपत्र कार्यान्वयनको सिलसिलामा कुनै पक्षलाई द्विविधा भएमा एक आपसमा छलफल गरी द्विविधा निराकण गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्