वस्तुको आयातमा प्रतिबन्ध हटने «

वस्तुको आयातमा प्रतिबन्ध हटने

सरकार वस्तु आयात खुकुलो पार्न सकारात्मक रहेको छ । नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूले आयातमा लागेको प्रतिबन्धको अवधि अरु नथप्ने विषयमा आफू सकारात्मक रहेको र त्यसका लागी उपयुक्त कदम चालिने बताएका छन् ।
शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै नेपाल राष्ट्र बैंकले पनि वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था क्रमश खुकुलो पार्दै जाने जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत पनि सरकारले आयात प्रतिबन्ध गरेको र राष्ट्र बैंकल नगद मार्जिन राख्ने व्यवस्था गरेकोमा असन्तुष्ट रहेका छन् । उनीहरुले पनि नेपाल समुद्रपार निकासी पैठारी संघले झैं यो व्यवस्था हटाउनु पर्ने बताउँदै आएका छन् ।
मन्त्री बडूलाई भेटेर नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध अविलम्ब खारेज गर्न आग्रह गरेको हो । उक्त प्रतिबन्धले अनधिकृत आयात बढ्दा सरकारले राजस्व गुमाएको तर हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिइरहेको वा रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको भन्दै संघले प्रतिबन्ध खारेज गर्न माग गरेको जनाएको छ ।
विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था हटाउन संघले माग गरेको हो । यसरी नगद मार्जिन राख्दा व्यवसायको लागत बढेको संघको भनाइ छ । डिएपी, टिटी जस्ता माध्यमबाट भुक्तानी गर्दा निर्यातकर्ताले एलसीको भुक्तानीमा भन्दा बढी छुटमा माल/वस्तु उपलब्ध गराउने हुँदा त्यस्ता माध्यमबाट भुक्तानी गर्न लिनुपर्ने संघको माग छ ।
यसो गर्दा थोरै मात्रामा भए पनि विदेशी मुद्रा पलायन रोक्न मद्दत पुग्ने संघको भनाइ छ । सो अवसरमा संघले उधारो उठाउने ऐन निर्माण र कालोबजारी ऐन संशोधनको आवश्यकता, तेस्रो मुलुकमा निर्मित वस्तु भारतबाट आयात गर्न दिनुपर्नेलगायत विषय उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्