ईआईए नहुँदा करिडोरको काम प्रभावित

राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोर निर्माणकार्य प्रभावित भएको छ । विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा करिडोरको निर्माणकार्य प्रभावित भएको हो ।
चालू आवमा ३० करोड बजेट छुट्याइए पनि ईआईए नहुँदा काम रोकिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला–टिंकरसम्मको ४२६ किमि सडकखण्डको निर्माणकार्य पछिल्लो समय ईआईए नहुँदा रोकिएको दार्चुला–टिकंर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए । दार्चुला–टिंकर सडक योजनाले अहिले महाकाली करिडोरको जिम्मेवारी लिएको छ । डडेल्धुरा, बैतडी र दार्चुलामा गरी तीन खण्डमा निर्माणकार्य चलिरहेकै बेला वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना काम नगर्न दबाब आएपछि काम रोकिएको उनले बताए । कञ्चनपुरको ब्रह्मदेवमा भने सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन । “डडेल्धुरा, बैतडी र दार्चुलास्थित महाकाली किनारबाट तीन खण्डमा काम सुरु भएको थियो,” उनले भने, “स्थानीय र वन कार्यालयबाट गुनासो आएपछि काम रोकिएको हो ।” महाकाली नदीको किनारै किनार बन्ने करिडोर वन क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन बिना कार्य रोकिएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले बताए । “महाकाली करिडोर चुरे वन क्षेत्र हुदै बैतडी र दार्चुलाको वन क्षेत्रमा बन्न लागेकाले वातावरणीय प्रभाव मूल्यांकन नभई ट्रयाक खोल्न मिल्दैन,” उनले भने ।
महाकाली करिडोरअन्तर्गत बैतडीको त्रिपुरासुन्दरीबाट १० किमि ट्रयाक खोलिएको र बाँकी कार्य वातावरणीय प्रभाव मूल्यांकन नबनेकै कारण रोकिएको वन कार्यालयले जनाएको छ । वन क्षेत्रलाई हानि नगर्ने क्षेत्र भएकाले त्रिपुराबाट १० किमि ट्रयाक खोल्न दिइएको वन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका– ९ स्थित वेवरी सामुदायिक वन र ८ स्थित कैलपाल सामुदायिक वनले करिडोर निर्माणले आफ्नो वनका हजारौं रुख नष्ट हुन लागेको भन्दै जिल्ला वन कार्यालयमा गुनासो गरेपछि वन कार्यालयले सडक निर्माण कम्पनीलाई ईआईए नहुन्जेलसम्म काम रोक्न दबाब दिएको थियो ।
दार्चुला–टिंकर सडक निर्माणका लागि विस्फोटक पदार्थ अभाव, वातावरणीय प्रभाव मूल्यांकनसँगै निर्माण कार्यका लागि चाहिने आवश्यक सामग्री नहुँदा निर्माणकार्य ठप्प भएको हो । दार्चुला–टिंकर सडक निर्माणका लागि विष्फोटक पदार्थ अभावमा ८ वर्षमा १८ किमिमात्रै ट्रयाक खोलिएको छ । योजनालाई चाहिने १० टन विष्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा निर्माणकार्य अघि बढ्न नसकेको योजना प्रमुख शाहको भनाइ छ । टिंकर सडकको पिपलचौरीको विजयपुर भीर, राप्लाको फतङगाडदेखि घाटी बगर क्षेत्रमा सडकको ट्रयाक खोल्न विस्फोटक पदार्थ आवश्यक रहेको छ । ती क्षेत्रमा कडा चट्टानी भूभागमा विस्फोटक पदार्थबिना काम हुनसक्ने अवस्था नरहेको योजनाका इन्जिनियर दिनेश राईखोलाले बताए ।
२ महिनापछि मात्रै निर्माण सुरु हुने
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सडक विभागअन्तर्गतको भू–वातावरणीय इकाइको टोलीले अध्ययन गरेर बनाउने गर्छ । अहिले सडक विभागले वन मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउन विवरण पठाइसकेको छ । उक्त वातावरणीय प्रभाव मूल्यांकन बनाउन अझै २ महिना लाग्ने दार्चुला–टिकंर सडक योजनाका प्रमुख शाहले बताए । ईआईए बनाउन र सेनासँग विस्फोटक पदार्थ माग्न म अहिले काठमाडौंमा छु, कम्तीमा पनि २ महिना समय लाग्ने देखिएको छ,” उनले भने, “वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएपछि मात्रै निर्माणकार्य सुरु हुन्छ ।” ठूला योजना निर्माण गर्दा अनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने भए पनि यो आयोजनाले भने ईआईए नगरीकनै निर्माणकार्य सुरु गर्दा समस्या भएको हो ।
मुआब्जा पाए सजिलो हुन्थ्यो स्थानीय
करिडोर फराकिलो बन्न लागेकाले स्थानीयको खेतीयोग्य जमिन मासिने भएको छ । महाकाली करिडोर बन्न लाग्दा खुसी भएका स्थानीयले आफूहरूलाई जग्गाको मुआब्जा पाए सजिलो हुने बताएका छन् । “एउटै गरा हुनेको त सबै जमिन मासिने भयो, मुआब्जा पाए आफूहरूलाई पनि राहात हुन्थ्यो । हामी पनि विरोध गर्दैनौं,” स्थानीय लालसिंह विष्टले भने । आफ्नो गाँउ बीचैबाट करिडोर बन्न थालेपछि उनीहरूमा खुसी पनि उत्तिकै छ । थोरै जमिनको सहारामा बाँचिरहेका करिडोर प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा दिनुपर्ने माग गरेका छन् ।
नरी बडु