निष्पक्ष पत्रकारिताका लागि थप जिम्मेवार हुनुस् : प्रधानमन्त्री «

निष्पक्ष पत्रकारिताका लागि थप जिम्मेवार हुनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने गरी कलम चलाउन कांग्रेस पार्टीप्रति शुभेच्छुक प्रेस युनियनमा आबद्ध पत्रकारलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने बताए ।
प्रजातन्त्रका लागि भएका हरेक परिवर्तनमा प्रेसले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा सञ्चार क्षेत्रको वहन गरेको भूमिकाको प्रशंसा गरे । निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ प्रविधिलाई आत्मसात गर्दै अघि बढ्न उनले सुझाव दिए । पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेकाले निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने प्रधानमन्त्री देउवाको भनाइ छ ।
कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण राख्न सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालको अवस्था श्रीलंकाजस्तो हुने कुरा वाहियात भएको दाबी गरे । युनियनको नवौं महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन् । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्