अमेरिकालाई पत्र नपठाएकोमा सत्तारुढ सांसदकै आपत्ति «

अमेरिकालाई पत्र नपठाएकोमा सत्तारुढ सांसदकै आपत्ति

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयबारे अमेरिकी सरकारलाई पत्र नपठाइएको भन्दै सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले यस्तो आपत्ति जनाएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपी मा सहभागी नहुने नेपाल सरकारको निर्णयका बारेमा तत्कालै अमेरिकालाई पत्राचार गर्न नसकिने भनी परराष्ट्रका अधिकारीले दिएको अभिव्यक्तिबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले परराष्ट्र मन्त्रालयका प्रवक्ताले विभिन्न पक्षसँग संवाद गरेर मात्रै अमेरिकालाई पत्राचार गर्ने भनेर दिएको वक्तव्यका बारेमा जानकारी गराउन सरकारसँग आग्रह गरे । उनले भने, “अहिले तत्कालै अमेरिकालाई यससम्बन्धमा पत्राचार गर्न नसकिने भनेर परराष्ट्र मन्त्रालयका प्रवक्ताले वक्तव्य दिनुभएको छ । यो मन्त्रिपरिषद्को निर्णयको विरुद्धमा भयो । सरकारको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धित मन्त्रालयको दायित्व हो, तर परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरेको छैन, एसपीपी सम्झौता नगर्ने सरकारको निर्णयको पत्राचार तत्काल गर्न सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउँछु,” उनले भने ।
गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता नगर्ने र सोको जानकारी अमेरिकालाई गराउने निर्णय गरेको थियो । एसपीपी सम्झौता नगर्ने भने पनि अन्य विभिन्न नाम दिएर फेरि सम्झौता गर्ने तयारी भइरहेको भन्ने खबर सुनिएको उल्लेख गर्दै उनले छिटोभन्दा छिटो एसपीपी सम्झौता नगर्ने विषयसहितको पत्राचार गर्न आग्रह गरे । “जसरी भए पनि नेपाललाई आइपिएसको अङ्ग बनाउने र सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्छ,” उनले भने ।
विश्वव्यापीरूपमा सैन्य तनाव देखिएको अवस्थामा नेपालले पञ्चशील र असंलग्नताको सिद्धान्त अवलम्बन गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय मुद्दामा शान्तिपूर्ण समाधानको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । “नेपाल कुनै पनि सैन्य गठबन्धनमा आबद्ध भयो भने राष्ट्रिय अस्मिता धरापमा पर्न सक्छ, द्वन्द्वग्रस्त अवस्था सिर्जना हुन सक्छ । सैन्य सम्झौता जस्तो गम्भीर विषयमा अविलम्ब सरकारले जानकारी गराउनुपर्छ, परराष्ट्र मन्त्रालयले अविलम्ब सरकारको निर्णयको पत्राचार गर्नुपर्ने विषयमा रुलिङको माग गर्दछु,” उनले भने ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीपी अस्वीकार गर्दै पत्र नलेखेको भन्दै सरकारले आक्रोश व्यक्त गरे । उनले भने, “यतिबेला हाम्रो देशमा गम्भीर समस्या पैदा हुँदै गएका छन् । राष्ट्रियतासामु अनेक प्रकारका खतरा मडारिएका छन् । मन्त्रिपरिषद्ले एसपीपी (अमेरिकी सरकारको स्टेट पार्टनरसिप प्रोग्राम) अस्वीकार गर्छौँ भनेर सरकारले निर्णय गरेको एक महिनाभन्दा बढी भइसकेको छ । तर अहिलेसम्म के कारणले पत्र लेख्न सकिएको छैन ? यो हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कतातिर छ हाम्रो कार्यकारी अधिकार ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा ? के कारणले रोकिँदैछ ? म गम्भीररतापूर्वक सरकारलाई प्रश्न उठाउन चाहन्छु ।’
उनले युक्रेन–रुस युद्धका कारण अर्थव्यवस्थामा गम्भीर संकट पैदा भएको उनको भनाइ थियो । यसले मूल्यवृद्धि र विभिन्न वस्तुको उपलब्धतामा संकट आएको समेत उल्लेख गरे ।

बक्स
सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने निर्णय कार्यान्वयबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एसपीपी कार्यान्वयन गराउन सरकार भित्रभित्रै लागिपरेको आरोप लगाएपछि सभामुखले ध्यानाकर्षण भएको भन्दै त्यसको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन गरेका हुन् ।
“एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु,” सभामुखले सदनमा रुलिङ गरे ।

प्रतिक्रिया दिनुहोस्