वैदेशिक रोजगारीका सेवा प्रभावकारी बनाउन जोड

वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवम् व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा देखिएका समस्या र वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा सम्बन्धित सरोकारवाला निकायसँग मन्त्रालयलले छलफल गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन् । प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरिय र प्रभावकारी ढंगले जनता समक्ष पुग्ने गरी काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको हो ।
श्रममन्त्री कुँवरले कुनै पनि बेला कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको बताए । ग्रामिण भेगबाट सेवा लिन आउने सेवाग्राहीले समेत यो राज्य मेरो पनि हो भन्ने खालको अनुभूति हुनेगरी काम गर्न सबै कर्मचारी र सरोकारवाला निकायलाई आग्रह गरे । अहिले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाईन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको बताए ।
उनले वैदेशिक रोजगारमा ९ लाखसम्म ठगिएका गुनासो आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र संवयम् कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो न्यूनिकरणमा लाग्ने बताए । मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठूलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंकिङ प्राणीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने सुझाव दिए ।
अहिले सरकारले परिचयपत्र, इ पासर्पोट, श्रम स्वीकृत, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधी उपचार सेवा दिने जस्ता कामहरु अनलाइनबाटै गरिरहेको छ । त्यस्तै अनलाइनबाट दिने सेवामा सबैभन्दा प्रभावकारी श्रम स्वीकृत दिने काम भइरहेको छ ।
छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलगायतका कर्मचारी सहभागी थिए ।