नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन माग «

नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन माग

निजी क्षेत्रले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन धितोपत्र बोर्डसँग माग गरेको छ । हाल सञ्चालनमा रहेको स्टक एक्सचेन्जले सञ्चालनको लामो अवधिमा समेत बजारको आवश्यकताबमोजिम पूर्वाधार व्यवस्था गरी कारोबार प्रणालीलाई समस्यारहित, सहज, सरल, विविध प्रकारका धितोपत्र कारोबार गर्न नसक्दा सम्पूर्ण धितोपत्र बजारको विकासमा प्रतिकूल असर परिरहेकोले यसको निजीकरण तथा सशक्तीकरण गर्नुका साथै व्यापक सहभागिता रहने र अन्तर्राष्ट्रियस्तरका सुशासन मापदण्डबमोजिम सञ्चालन हुने गरी अर्को एउटा स्टक एक्सचेन्ज सञ्चालनका लागि अनुमति प्रदान गर्न निजी क्षेत्रले माग गरेको हो ।
यसका साथै दीर्घकालीन रुपमा बैंकिङ क्षेत्रको कुल कर्जामा सूचीकृत धितोपत्रमा दिइने कर्जाको सीमा, धितोपत्रको मूल्यमा कर्जाको सीमा तथा कर्जा प्रयोजनको लागि औसत धितोपत्र मूल्य गणना विधि तथा यस्तो कर्जामा जोखिम भारका सम्बन्धमा गहन अध्ययन गरी उपयुक्त हुने तथा कहिल्यै परिवर्तन गर्न नपर्ने नीति अवलम्बन गर्न नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकसँग पनि माग गरेको छ । यसो गरेमा नीतिगत स्थायित्व रहने तथा नीतिगत अस्थिरताको अवस्थामा नीतिगत तहमा पहुँच हुनेबाट बजारमा हुन सक्ने चलखेलको अन्त्य हुने तथा लगानीकर्तामा समेत नीतिगत स्थायित्वको कारणले बजारप्रतिको विश्वासमा अभिवृद्धि भएका कारण आफ्नो लगानी रणनीति तय गर्न सक्ने अवस्था रहने पनि चेम्बरले जनाएको छ ।
धितोपत्रका विभिन्न औजारहरू कारोबारमा ल्याउँदा त्यसबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लाभान्वितबाट लिइने व्यवस्था गरी धितोपत्र औजारको विविधीकरणलाई प्रोत्साहन गर्न सुझाव दिइएको छ । पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गर्दै नेपाल चेम्बर अफ कमर्सले धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेबमोजिम विभिन्न कोष सञ्चालनका लागि करका सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग माग गरेको छ ।
चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गर्दै पुँजी बजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेश गरिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशायी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीनवटै निकायमा छुट्टाछुट्टै सुझाव पेश गरिएको उनको भनाइ छ ।
चेम्बरले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीन बुँदे सुझाव दिएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि पुँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताए । साथै, चेम्बरले धितोपत्र बोर्डलाई छुुट्टै १० बुँदे सुझाव पेश गरेको छ । अन्तर्राष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ ।
धितोपत्र बजारका पूर्वाधारहरूको उचित व्यवस्था गरी अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र औजारहरू जारी गर्न सक्ने व्यवस्था तत्काल गर्न समेत चेम्बरले धितोपत्र बोर्ड समक्ष आग्रह गरेको छ । अन्तर्राष्ट्रियस्तरमा प्रचलन रहेबमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत तथा पूर्वाधार व्यवस्थाका सम्बन्धमा एक स्थायी प्रकृतिको विशेष समिति बनाई गहन अध्ययन गर्ने र उक्त समितिमा बजारसँग सम्बन्धित विशेषज्ञ तथा बजारका सेवाप्रदायक संस्था र अन्य सरोकारवाला संस्थाको समेत सहभागितामा आवश्यकताबमोजिम विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्ने तथा नयाँ नीतिगत व्यवस्था गर्ने कार्य तत्काल अगाडि बढाउन पनि चेम्बरले आग्रह गरेको छ ।
विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष स्थापना तथा सञ्चालनका लागि आवेदन दिएको लामो समय भइसक्दा पनि अनुमति प्रदान हुन नसकेकोले अन्योलको अवस्था रहेको सन्दर्भमा आवेदनकर्ता संस्थाहरूलाई बिनाशर्त तत्काल अनुमति दिइनुपर्ने तथा कोष शिघ्र दर्ता हुने व्यवस्था गर्न, जारी भएका नियमावलीका मापदण्ड पूरा गरी धितोपत्र व्यवसाय गर्न आवेदन दिएका संस्थाहरूलाई तत्काल अनुमति प्रदान गरी अन्य संस्थाहरूलाई अनुमति दिने वा नदिने सम्बन्धमा यथोचित अध्ययन गरी नीतिगत व्यवस्था गर्न तथा यस सन्दर्भमा नियमनकारी निकायको नीतिगत स्पष्टताको अभावको निर्णयमा पुग्न बिलम्व हुने अवस्था सिर्जना नगर्न पनि चेम्बरले धितोपत्र बोर्डलाई सुझाव दिएको छ ।
धितोपत्र बजारमा लाग्दै आएको नियामकीय लगायतका विभिन्न शुल्कहरूको अध्ययन गरी उचित हेरफेर गर्नुपर्ने साथै विभिन्न व्यवसाय तथा सूचीकृत कम्पनीहरूको वार्षिक नवीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटाउन पनि चेम्बरको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्