आर्थिक समृद्धिमा वनजंगलको महत्व र आवश्यकता «

आर्थिक समृद्धिमा वनजंगलको महत्व र आवश्यकता

प्रकृतिबाट अनुपम उपहारस्वरूप प्रदान गरिएको वनजंगल, जल, जमिन, जडीबुटी आदि हुन् । यसमध्ये वनजंगल जीवनको एक प्रमुख आधारशिला हो । सोको सदुपयोग र संरक्षण गर्ने मानवताको प्रथम कर्तव्य हुन जानेछ । मानवको जन्मदेखि मृत्युपर्यन्त यी वस्तुहरूको आवश्यकता पर्छ । हाम्रो मुलुकलाई केही वर्षअगाडिसम्म ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति अहिले आएर कहावतमा मात्र सीमित भएको छ । यसरी क्रमशः जन्मिरहेका मानिस र अन्य प्राणीहरूलाई सन्तुलित वातावरण कायम गर्नका लागि प्रत्येक राष्ट्रलाई ४५ प्रतिशत वनजंगलको आवश्यकता पर्छ । त्यस्तैगरी विगत अढाई दशकभन्दा अगाडि कुल भू–भागको झन्डै आधाजति वनजंगल रहेकोमा अहिले देशमा कुल क्षेत्रफलको २५.४ प्रतिशत अर्थात् ३६ लाख ३६ हजार हेक्टर भूमिमात्र वन क्षेत्र रहेको युएन र एफएओको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये एकतिहाइ अर्थात् २३ लाख ९० हजार हेक्टर वन समुदायको प्रत्यक्ष निगरानीमा रहेको छ । यसबाट देशभरिका २९ लाख घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन् । यसरी देशको कुरा गर्ने हो भने वन क्षेत्रमा सामुदायिक वनको कति ठूलो महŒव छ भन्ने यसबाट थाहा हुन्छ । कुनै बेला हरियो वनलाई नेपालको धन भन्ने गरिन्थ्यो । यसर्थ वनजंगललाई सित्तैंमा पाएको धन मानेर विनाश गरेका कारण वि.सं. २०४५ सम्म आइपुग्दा नेपालका तराई, पहाडका अधिकांश वनजंगल नांगो भइसकेको अवस्था थियो । त्यस अवस्थामा समुदाय आफैँ जागरूक भएर वन जोगाउने काम सुरु गरेपछि वनजंगलको विनाश कम हुँदै जान थाल्यो । यसरी समुदाय, जनचेतना जागरूक भए वनजंगलको विनाश रोक्न सकिने रहेछ भन्ने प्रमाणित भएपछि सामुदायिक वन उपभोक्ता समितिहरू धमाधम गठन हुँदै जान थाले । यसरी राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो योगदान पु¥याएको छ । देशको सामुदायिक वनजंगल अन्तर्राष्ट्रिय जगत्मा नै उदाहरणीय बन्न पुगेको छ । करिब २२ हजार सामुदायिक वन उपभोक्ता समूहहरूबाट करिब २२ लाख हेक्टर वनजंगल क्षेत्रको संरक्षण र व्यवस्थापन भइरहेको छ । अतः गरिबीको रेखामुनि रहेका समुदायलाई हस्तान्तरण गरिएको कबुलियती वनबाट उक्त समुदायको जीवनस्तर उकास्न मद्दत पुगेको छ । हालसम्म १ लाख १३ हजार १ सय ८५ हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गरी वनजंगल व्यवस्थापन गरिएको छ । यसले वनजंगल पैदावारको आपूर्ति र हरित उद्यम सञ्चालनमा मद्दत पुगेको छ ।
हाम्रो देशमा मात्र नभई विश्वव्यापी रूपमा दूषित हुँदै गएका ओजोन लियर, ग्रिन हाउस इफेक्ट, कार्बन मनोअक्साइड, अक्सिजन कमी, कार्बनडाइअक्साइडको मात्रा बढी आदि कारणले गर्दा जनमानस नै प्रतिदिन दूषित हुँदै छ । तर, मानव भोजनको अभावमा केही दिन जीवित रहन सक्छ तर वायुबिना केही मिनेटभन्दा बढी जीवित रहन सम्भव छैन । एउटा स्वस्थ मानिस दिनको २२ सयचोटि सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महŒव खाएको भोजनको मात्राभन्दा झन्डै २० गुणा बढ्ता हुन्छ । यसरी प्रत्येक मानवलाई दैनिक १६ केजी अक्सिजन सास फेर्न आवश्यक पर्छ । यसको आपूर्ति रूखबिरुवाबाट सम्भव छ । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्छ । त्यस्तैगरी हुर्किएका १ सय वर्षका भोजपत्रले करिब ८ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्छ । यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले ७ हजार जीवात्मालाई बासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ, वायुमण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले श्वास क्रियामा प्रयोग गर्छन् । एक व्यक्तिका लागि श्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरुरत पर्छ । एक वृक्षले सरदर २.७ के.जी. प्राणवायु वायुमण्डलमा फ्याक्छ ।
विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । यसरी विश्वमा वातावरण विनाश अहिलेको गतिमा जाने हो भने केही वर्षसम्म प्रत्येक आधा घण्टामा एक जाति–प्रजाति जीवको लोप हुने अनुमान छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि २ करोड हेक्टर वनजंगलको विनाश, त्यसबाट लोप भएका १ सय ३० जातका जंगली चराहरू, स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फुल्ने जातका रूखहरू बर्सेनि बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुमूमीकरण हुने तथ्यले केही वर्षभित्र वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिने संकेत मिलेको छ । यसैगरी प्रकृतिलाई विनाशबाट जोगाउँदै लैजाने हो भने प्रकृतिबाट परिपूर्ति हुने जस्तै गाँस, बास, कपास, औषधि आदिको ९० प्रतिशत योगदान यसै क्षेत्रबाट आपूर्ति हुन्छ । पृथ्वीमा ५० लाखदेखि ३ करोडसम्म जीवहरू रहेको अनुमान जीवशास्त्रीहरूले गरे तापनि हालसम्म १० लाख ५० हजार प्राणी र २ लाख ५० हजार वनस्पति गरी कुल १३ लाख जीवको नामकरण भएको अड्कल काटिएको छ । त्यसरी नै वनजंगल र वातावरण कृषि कार्यका लागि अपरिहार्य रहेको छ, जसको अभावमा कृषिको उन्नति गर्ने कार्यलाई दिवा सपना मान्न सकिन्छ । एक आधिकारिक तथ्यांकअनुरूप विश्वमा प्रतिवर्ष १९ करोड ८० लाख हेक्टर वन मासिन थालेको छ । प्रकृतिको अथाहा भण्डारमा जैविक विविधताको महŒवपूर्ण स्थान रहेको छ । यसमा १ करोडदेखि ८ करोड प्रकारका जीव–जीवाणुहरूका महŒव आ–आफ्नै किसिमको छ । पर्यावरण प्रदूषणको अर्को नकारात्मक उपलव्धि ओजोन तह विनाश पनि हो ।
हाम्रो देशको कुरा गर्ने हो भने पृथ्वीको ०.१ प्रतिशतभन्दा कम क्षेत्रफलमात्र ओगट्ने मुलुकले संसारभरिका झन्डै २ प्रतिशत फूल फुल्ने वनस्पतिहरूको प्रतिनिधित्व गर्छ । त्यसरी नै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत देशको ७० प्रतिशतभन्दा बढी भूभाग पहाडैपडाडले ढाकेको छ । यसरी पहाडी क्षेत्रमा बर्सेनि देखा पर्ने भोकमरी, वार्षिक २.३ प्रतिशतले भइरहेको वनविनाश, बर्सेनि ४० देखि २ सय टन प्रतिहेक्टरका दरले हुने गरेका भूक्षय, चुरे तथा मध्यपहाडी क्षेत्रमा वनविनाश र भूक्षयले निम्त्याएको मरुभूमीकरण र त्यसले गर्दा पहाड र तराईमै गिर्दो कृषि उत्पादकत्व एवं बाढीपहिरो तथा जलाशय पुरिने जस्ता समस्याले भर्खरै विकास र औद्योगीकरणमा बामे सर्न लागेको मुलुकमा विकराल समस्या उत्पन्न हुन सक्ने खतराको संकेत देखा परिसकेको छ । कृषि प्रणालीलाई दिगो रूपले निरन्तरता दिन प्रतिहेक्टर र खेतीयोग्य जमिनको व्यवस्थापन गर्न झन्डै २–३ हेक्टर वनजंगलको आवश्यकता पर्छ । जैविक विविधताको संरक्षण तथा सदुपयोगको खाँचो आजको बदलिँदो विश्व समुदायलाई चुस्त हुँदै गएको छ । अहिलेको विद्यमान वातावरणको ह्रास कायमै रहेको खण्डमा केही वर्षपछि प्रत्येक आधा घण्टामा एक जाति वा प्रजाति जीवको लोप हुने अनुमान छ ।
समग्रमा भन्नुपर्दा मानवकै अज्ञानको कारणबाट वनजंगल विनाश, भूक्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । यसरी विकासशील देशहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वनजंगल–साधनमा ठूलो चाप पर्न गई भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक रहेको छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा वनजंगलको विनाशले जटिल समस्याहरू निम्त्याएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ । यसरी देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पु¥याउने महŒवपूर्ण माध्यमको रूपमा वनजंगल नै रहेको छ । यसर्थ वनजंगलको संरक्षण, संवद्र्धन र व्यवस्थापनको जिम्मेवारी बोकेको आधिकारिक निकाय वन विभाग हो । फलतः वनजंगलको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी राष्ट्रिय विकासमा योगदान पु¥याउन, वातावरणीय सन्तुलन कायम गर्न, वनजंगलमाथि सबै क्षेत्रवाट भइरहेको अतिक्रमण रोकी प्राणीजगत्को अस्तित्वको अनिवार्य तŒवको रूपमा रहेको वनजंगलको प्रभावकारी व्यवस्थापनको खाँचो परेको छ । यसरी संघीय संरचनाअनुसार तीन तहका सरकार कार्यान्वयन अवस्थामा रहेको हुँदा वनजंगल तथा जैविक विविधता संरक्षण र व्यवस्थापनमा स्रोतसाधनको उपलब्धतामा सहज हुनुका साथै अपनत्वमा समेत वृद्धि हुने सम्भावना रहेको छ । सामुदायिक वनजंगललगायतका समुदायमा आधारित ३० हजारभन्दा बढी वनसमूहमार्फत वनको व्यवस्थापन, वनमा आधारित उद्योग र पर्या–पर्यटन प्रवद्र्धन गर्न सकिने अवसर रहेको छ । वनको संरक्षण र विकासबाट वातावरणीय अवस्थामा सुधार गर्दै कार्बन संरक्षण र सञ्चितिबाट अन्तर्राष्ट्रिय भुक्तानीमा पहुँच पु¥याउन सकिने पनि अवसर रहेको छ । आम जनताको दैनिक जीवनयापनको अभिन्न अंगको रूपमा रहेको तथा गरिबी निवारणसँग प्रत्यक्ष जोडिएको वन तथा वन पैदावारको व्यवस्थापनलाई प्रभावकारी बनाउनुको अतिरिक्त विश्वव्यापी रूपमा जनवायु परिवर्तनबाट सिर्जित समस्याहरूको न्यूनीकरणको चुनौती सामना गर्नका लागि सबैले यस क्षेत्रमा सक्दो योगदान गर्ने बेला आइपरेको छ ।

प्रतिक्रिया दिनुहोस्