Logo

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।
कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार गत आर्थिक वर्षमा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गरेको हो ।
यो असुली अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्ब ८ करोड ७९ लाखले बढी भएपनि गत आर्थिक वर्षको लक्ष्य भन्दा २ अर्ब ९० करोडले घटी भएको उनको भनाइ छ । “गत आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा राजस्व असुली बढी संकलन भएको छ” उनले भने, “लक्ष्य बढी भएकाले लक्ष्य अनुसार भने हामी पुग्न सकेनौ ।” सरकारले बैंकिङ कारोबारमा कडाईलगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण भन्सारले राजस्व भेटाउन नसकेको भन्सार अधिकृत शर्माकोे भनाइ छ ।
नेपालगन्ज भन्सारको गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने साउन र असोज महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेपनि अन्य महिनामा कम असुली गरेको छ । कार्यालयले साउनमा १३१.४८ प्रतिशत राजस्व असुली गरेको कार्यालयले माघ महिनामा ७७.३० प्रतिशत असुली गरेको थियो ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १७ अर्ब ७८ करोड २२ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २१ अर्ब २२ करोड ४७ लाख अर्थात ११९.३६ प्रतिशत असुली गरेको थियोे ।
गत आर्थिक वर्षमा लक्ष्य भेटाउन नसकेपनि नेपालगन्ज भन्सारलाई चालु आर्थिक वर्षमा भने भन्सार विभागले थप ४ अर्ब बढाएर २९ अर्ब ३२ करोड लक्ष्य तोकेको छ । लक्ष्य निरन्तर बढी रहँदा असुली गर्न भने यस वर्ष पनि नेपालगन्ज भन्सारलाई समस्या पर्ने देखिन्छ ।
नेपालगन्ज भन्सार कार्यालय पछिल्लो १० वर्षमा दोस्रो पटक लक्ष्य पूरा गर्न असफल भएको छ । यसअघि आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीलगायत कारणले राजस्व असुली लक्ष्य पूरा गर्न नसकेको कार्यालयले गत आर्थिक वर्षमा पनि लक्ष्य हासिल गर्न नसकेको हो । भन्सार आयातमा वर्षेनि लक्ष्य वृद्धि भएपनि निर्यात भने ज्यादै न्यून छ । निकासीको अवस्था निरासाजनक हुँदा नेपालगन्ज नाकाबाट वर्षेनि व्यापार घाटा चुलिने क्रममा रहेको छ ।
सरकारले आयात दर घटाउन विभिन्न योजना कार्यान्वयनमा ल्याएको जनाएपनि हरेक वर्ष आयातको हिस्सा घट्नुको साटो बढ्ने क्रममा छ । यस्तै नेपालबाट भारततर्फ निकासी हुने वस्तुको परीमाण भने बढ्न सकेको छैन । जस्का कारण हरेक वर्ष व्यापार घाटा चुलिँदै गएको हो । भारतबाट हुने आयात बढेर बढी राजस्व संकलन हुने भन्सारमा गनिएपनि नेपालगन्ज भन्सारबाट निर्यात बढाउन नसक्दा मुलुकले हरेक वर्ष ठूलो व्यापार घाटा व्यर्होनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्