निर्यात व्यापारमा झिनो आशा «

निर्यात व्यापारमा झिनो आशा

अन्ततः भैरहवास्थित विशेष आर्थिक क्षेत्रबाट पहिलो उत्पादन सुरु भएको छ भने बाराको सिमरास्थित सेजमा रहेको तयारी पोसाक प्रशोधन केन्द्र पनि सञ्चालनको प्रक्रिया सुरु भएको छ । नेपालको व्यापारघाटा बढेको र निर्यात व्यापार बढाउन नसकिएका बेला सेजभित्रको उद्योगले उत्पादन सुरु गर्नुलाई उत्साहका साथ हेर्न सकिन्छ । दैनिक पौने ४ अर्बको व्यापारघाटा भइरहेका बेला सेज सञ्चालनले व्यापारघाटाको बढ्दो गतिलाई थोरै भए पनि नियन्त्रण गर्न सकिने संकेत देखिएका छन् । यसलाई सकारात्मक मान्नै पर्छ ।

व्यापारघाटा बढेको र निर्यात व्यापार बढाउन नसकिएको बेला सेजभित्रको उद्योगले उत्पादन सुरु गर्नुलाई उत्साहका साथ हेर्न सकिन्छ ।

नेपालमा लामो समयदेखि सेजको चर्चा भए पनि कार्यान्वयन हुन सकेको थिएन । यसका कानुनी र प्राविधिक दुवै पक्षमा पर्याप्त तयारी नहुँदा सेज स्थापना हुन सकेको थिएन । त्यसो त संघीय सरकारले विशेष आर्थिक क्षेत्र (सेज) ऐन, २०७३ लाई संशोधन गर्न बनेको विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) ऐन, २०७५ पारित गरेपछि यसमा कुनै कानुनी अड्चन पनि छैन । यो ऐनले देशमा भएका र विदेशबाट आयातित कच्चापदार्थ र श्रमको उपयोग गर्ने गरी उद्योगलाई प्रोत्साहन गर्ने भनिएको छ । यस क्षेत्रभित्र स्थापित उद्योगहरूले स्थापना भएको पाँच वर्षसम्म आयकर छुट गर्ने प्रावधान राखिएको छ । यसका साथै ६० प्रतिशत भन्दा बढी देशको कच्चापदार्थ प्रयोग गर्ने उद्योगलाई थप पाँच वर्ष ५० प्रतिशत आयकर छुट र अर्को पाँच वर्षको लागि थप २५ प्रतिशत आयकर मिनाहा गर्ने भनिएको छ । यस्ता उद्योगले उत्पादनका लागि आयातित कच्चापदार्थमा भन्सार दर शून्य गर्ने गरी प्रावधान राखिएको छ, तर यस्ता उद्योगले उत्पादनको ७५ प्रतिशत उत्पादन निकासी गर्नुपर्ने प्रावधानलाई खुकुलो बनाएर ६० प्रतिशतमात्रै निर्यात गरे पुग्ने पनि बनाइएको छ ।
नेपालमा निर्यातजन्य उद्योगले पाएको सुविधा नगण्य छ । बैंकको ब्याजदर र निकासीमा नगद अनुदानबाहेक अन्य सुविधाहरू गणनायोग्यसमेत छैनन् । जबकि चीन, भारत र अन्य कैयन् देशले देशको निर्यात बढाउन निर्यातोन्मुख उद्योगहरूलाई विभिन्न प्रोत्साहन, देशमा रोजगारी बढाउन अवसर र वैदेशिक मुद्रा आर्जनमा मौका दिइने देखिन्छ । सेज ऐनले भने यसबाहेकका सुविधाहरूको पनि ग्यारेन्टी गरेकाले भोलिका दिनमा आफूअनुकूल व्याख्या गरेर ऐनमा उल्लेख भएका सुविधा नपाउने अवस्था सिर्जना नहोस् र यसका लागि ऐनमा अझै कुनै अन्योल भए बेलैमा समाधान गर्नुपर्छ ।
निर्यात व्यापारका लागि विश्वभर सेज सफल मोडल मानिन्छ । विश्वमा पहिलो आधुनिक सेज सन् १९४८ मा प्युटोरिकोमा सिर्जना गरिएको थियो । यसपछि संसारमा ३ हजारभन्दा बढी यस्ता विशेष आर्थिक क्षेत्र निर्माण भएका छन् । कामको प्रकृति र बनावटको हिसाबले यस्ता औद्योगिक क्षेत्र फरक–फरक रहेको पाइन्छ । कस्तो किसिमको सेजको निर्माण गर्ने हो, देशहरूको भौगोलिक अवस्थामा भर पर्छ । देशहरूले आफ्नो अनुकूल सेजका निर्माण गर्दै आएका छन् । नेपालमा शतप्रतिशत निकासोन्मुख उत्पादन गर्ने सेजको आवश्यकता छ । स्वदेशमै खपतका लागि औद्योगिक क्षेत्र र निर्यातका लागि सेज आवश्यक छ । औद्योगिक उत्पादन जहाँ भए पनि बढाउनुपर्छ र सकेसम्म निकासी र नभए पनि आयात प्रतिस्थापन गर्नुपर्छ भन्नेमा सायदै कसैको दुईमत होला । यसैले भैरहवा सेजबाट उत्पादन सुरु भएको र सिमरा सेजमा उद्योग स्थापनाको प्रक्रिया अगाडि बढेको दुवै कामलाई सकारात्मक रूपमा लिइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्