ओमानका पर्यटक नेपाल भित्र्याउन चेम्बरको आग्रह «

ओमानका पर्यटक नेपाल भित्र्याउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीटोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ ।
भेटमा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसँग आग्रह गरेका हुन् । आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्न सके पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । यसका लागि नेपाली दूतावासले पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
“एसियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ” उनले भने, “त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी महामहिम राजदूतले भूमिका निर्वाह गरिदिनुप¥यो ।”
ओमानसँग नेपालको व्यापार घाटा उच्च रहेकाले पर्यटन र लगानीमार्फत व्यावसायिक सम्बन्ध विस्तारमा अध्यक्ष मल्लले जोड दिए । ओमानमा नेपाल हाउस खोल्नका लागि पहल गरिदिन पनि अध्यक्ष मल्लले आग्रह गरे ।
ओमानबाट मासिक २ अर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको भन्दै अध्यक्ष मल्लले नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए ।
राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । ओमानमा कार्यरत एक नेपाली बराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान शुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्