कोरला नाका खुलाउन पूर्वाधार निर्माण तीव्र «

कोरला नाका खुलाउन पूर्वाधार निर्माण तीव्र

मुस्ताङस्थित कोरला नाका सञ्चालनका लागि सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कुटनीतिक पहल थालेको छ ।
कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी भएको हो । कोरला नाकानजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघि नै सञ्चालनमा आइसकेको छ ।
उत्तर–दक्षिण जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्र रूपमा अघि बढेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रूपमा यातायातको पहुँच पु¥याउन आयोजनामार्फत ५ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम करिब ४० प्रतिशत सकिएको छ ।
कालिगण्डकी करिडोर भारत र चिन जोड्ने नेपालकै छोटो सडक हो । यसलाई ४ नम्बर प्रदेशको लाइफलाइन मानिएको छ । व्यापारिक, पर्यटकीय, धार्मिक र जलविद्युत्को विकासका हिसाबले सम्भावनायुक्त कोरला नाका खुलाउने विषयमा मुस्ताङका जनप्रतिनिधिको टोलीले केही दिनअघि नेताहरूलाई भेटेर नाका खुलाउन आग्रह गरेका थिए ।
हालै बेनीमा आएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि कोरला नाका छिट्टै खुल्ने बताएका थिए । कोरला नाका सञ्चालनका लागि चीन सरकार र त्यहाँका अधिकारीसँग कुटनीतिक छलफल भइरहेको प्रचण्डको भनाइले धौलागिरिका सरोकारवालामा उत्साहको सञ्चार छाएको छ ।
वि.सं २०३२ सालमा खुलेको कोरला नाका करिब एक दशक सञ्चालन भएको थियो । खम्पा विद्रोहपछि समस्या सिर्जना भएकाले एक चीन नीति विरोधी गतिविधिलाई रोक्न पछिल्लो समय चिनियाँ पक्षले आवतजावतमा कडाइ गर्दै वर्षमा दुई पटक अन्तरदेशीय ब्यापार मेलाका लागि मात्र नाका खुलाउने गरेको छ ।
कोरला नाकालाई लक्षित गरेर सरकारले सीमा प्रहरी, प्रशासन कार्यालय स्थापना गरिसकेको छ । लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको नेचुङ भन्सार कार्यालय वि.सं २०७३ असारमा २१ वर्षपछि पुनःस्थापना भएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प र अध्यागमन कार्यालय स्थापनाका लागि जग्गा प्राप्ति भइसकेको छ । लोमान्थाङदेखि कोरला नाकातर्फ जाने बाटोमा करिब ५ किमि उत्तरतर्फ सेनाको क्याम्प राख्न दुई सय रोपनी जग्गा प्राप्ति भएको छ । सो ठाउँमा सेनाले भवन निर्माण सुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । “सशस्त्र प्रहरी, अध्यागमन, भन्सार र जनपथ प्रहरीको कार्यालयका लागि पूर्वाधार बनाउन तत्तत् कार्यालयमार्फत योजना र बजेट प्रस्ताव गरेर पठाएका छौ,” प्रजिअ तिवारीले भने, “बन्दरगाहाका लागि समेत जग्गाको व्यवस्था गरीसकेका छौं ।” उच्चस्थान र चिसो मौसम हुने भएकाले वातावरण अनुकुलित पूर्वाधार निर्माण गर्ने सरकारी पक्षको तयारी छ । कोरलादेखि तिब्बतको मुख्य राजमार्गको बजार क्षेत्र ढुङवासेन ४५ किमि टाढा छ । गत वर्ष पाँच महिना लगाएर चीनले नेपालतर्फको २० किमि सडक निर्माण गरेको थियो ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्