कहिले विस्तार हुन्छ भरतपुर विमानस्थल ? «

कहिले विस्तार हुन्छ भरतपुर विमानस्थल ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम यही वर्षबाट सुरु हुने बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि ‘एक्सन’मा जाने प्रतिवद्धता जनाए ।
“२०७५ यता सातौं पर्यटनमन्त्री बनेको छु । ७ लाई लक्की सेभेन पनि भनिन्छ, मेयरज्यूले गोल तपाईंले हान्नुपर्छ भन्नुभयो, म खेलकुदको पनि मान्छे, संयोग मिलेको छ, अब राम्रो काम पूरा गर्ने जिम्मेवारी महसुस गरेको छु,” उनले भने, “मन्त्रालयले पनि उच्च प्राथमिकता दिएको छ, बजेट विनियोजन गरेरै अगाडि बढ्छौं ।”
विमानस्थल विस्तारमा देखिएका अप्ठ्याराहरु सहजीकरण गर्न महानगर र स्थानीयको सहयोग भएमा छिटै काम पूरा हुने उनले बताए । उनले जमिनको कारणले अल्झिनुपर्ने नपर्ने अवस्था बनिसकेको बताए । “यो विमानस्थल विस्तार हुँदा राष्ट्रले नै लाभ लिन सक्छ । यहाँ अब ७२ सिटे जहाज नै ल्यान्ड गर्न मिल्ने गरी विस्तार गर्नेछौँ,” उनले भने । भरतपुर विमानस्थल विस्तार नहँुदासम्म पर्यटन प्रवद्र्धन गर्न सहज नहुने भएकाले मन्त्रालयले विस्तार गर्ने कार्यलाई अगाडि बढाउने उनले बताए । “यो विमानस्थल स्तरोन्नति नगरी अरु विकल्प छैन,” मन्त्री श्रेष्ठले भने, “स्तरोन्नति गर्नैपर्छ, मौसमी अनुकूलता हेरेर काम सुरु हुनेछ ।”
भरतपुर विमानस्थल विस्तार गरेर पर्यटन पुनरुत्थान गर्न अभियान सहयोगी बनाइने उनले बताए । थप धावनमार्ग बनाउन जमिन व्यवस्थापनका लागि नेपाली सेनासँग छलफल भइसकेकाले जग्गाको समस्या नरहेको उनको भनाइ थियो । प्रधानसेनापतिसँग केही दिन अगाडिको भेटमा काम अगडि बढाउनेबारे सकारात्मक छलफल भएको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर विमानस्थल विस्तार गर्ने बहस २०७५ सालदेखि चलेकाले अब ढिलाइ गर्न नहुने बताइन् । “भरतपुरको वर्षौंदेखिको प्रतीक्षा रहेको विमानस्थल विस्तारको काम हुनेमा आशावादी छौं,” उनले भनिन् । भरतपुरमा अन्तर्राष्ट्रियस्तरको सहरीकरण भएकाले छिमेकी जिल्लाहरुलाई समेत आवश्यक रहेकाले विमानस्थल विस्तारलाई गति दिनुपर्नेमा उनले जोड दिइन् । “बागमती प्रदेशको राजधानी हेटौंडाका लागि पनि विमानस्थल यही हो । गत वर्ष नीति तथा कार्यक्रममा प्रादेशिक विमानस्थलका रुपमा समावेश गरियो । सबै गृहकार्य पूरा भइसकेको छ, अब काम हुनुपर्छ,” उनले भनिन् । उनले विमानस्थल आसपासमा पछिल्लो ५ वर्ष मापदण्ड विपरीतका संरचना बनाउन रोक लगाइएको बताइन् । जनप्रतिनिधि आउनुपूर्व बनेका मापदण्ड विपरीतका संरचना आवश्यक परे भत्काउन समेत तयार रहेको उनले बताइन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगरले २०८० मा मनाउने भ्रमण वर्षभित्रै रात्रिकालिन उडान सुचारु हुने बताए । उनले विगत ५ वर्ष चुप बसे पनि अब ढिलाइ गर्न नहुने बताए । धावनमार्ग थपेर विमानस्थल विस्तार र स्तरोन्नति गर्न बजेट विनियोजन हुने उनले बताए । भरतपुर विमानस्थलमा पहिलो चरणमा ३ सय ३२ मिटर धावनमार्ग थप गर्न २ विघा ४ कट्टठा जग्गा आवश्यक हुने देखिएको छ । पश्चिम चितवन जाने चौविसकोठी–त्रिचोकसम्मको सडकलाई अन्यत्र बनाउनुपर्ने देखिएको छ । विमानस्थल विस्तारका लागि २०७५ यता बनेका अधिकांश पर्यटनमन्त्रीले महानगरमा हुने अन्तरक्रियामा विस्तार गर्ने वचन दिएका थिए ।
२०१९ सालमा स्थापना भएको विमानस्थल विस्तार गर्ने बहस २०७५ देखि सुरु भएको थियो । ५८ विघामा फैलिएको छ विमानस्थल । २०७५ माघ २८ गते तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा विमानस्थलको धावनमार्ग १ हजार मिटर बढाउने, उत्तर–पश्चिममा रहेको घोडा प्रजनन् केन्द्र र ब्यारेकलाई सार्ने, दक्षिण–पूर्वका मापदण्ड विपरीतका ट्रसहरु हटाउने निर्णय गरिएको थियो ।
सोही वर्षको फागुनमा महानगरले भरतपुर–१ को नेपाल ट्रष्टको दियालो बंगलाको ३६ विघा जमिनमा सेनाको व्यारेक र भरतपुर–११ को बसेनी गणेशस्थान नजिकैको सामुदायिक वनको ६० विघामा घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न मन्त्रालयलाई पत्राचार भएको थियो । विमानस्थल विस्तार र स्तरोन्नतिका लागि अध्ययनका लागि मन्त्रालयले २०७६ असोजमा गठन भएको ६ सदस्यीय समितिले सोही वर्षको माग २३ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
महानगरले २०७७ असार ३० गते कालिबहादुर गणको व्यारेकलाई नेपाल ट्रष्टको ३२ विघा र घोडा प्रजनन् केन्द्रलाई ६० विघा सार्न जग्गा उपलब्ध गराउने, रात्रिकालिन उडानका लागि महानगरले सहजीकरण गर्ने निर्णय गरी पठाएको थियो । व्यारेक र प्रजनन् केन्द्र सर्दा बाँकी रहने जग्गामा सेनाको एयर बेस एण्ड लग बेस रहने गरी विभागीय सहमति लिन समन्वय गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्