Logo

अवैध क्रसर उद्योग सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजार स्थित कालिगण्डकी नदी किनारमा दर्ता बिनै क्रसर उद्योग सञ्चालन गरिएको छ ।
बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने सदरमुकामदेखि नजिकै रहेको उक्त क्रसर उद्योग सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको छ । सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुंगगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले बताए । दर्ता बिनै क्रसर उद्योग सञ्चालन भएको सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको उनले जानकारी दिए ।
गलेश्वर– पिप्ले– भगवती सडक आयोजनाको कालोपत्रे गर्ने ठेक्का लिएका निर्माण व्यवसायी एपेक्स खड्का कृष्ण जे. भी कन्ट्रक्सन काठमाडौंले सडकका आवश्यक सामग्री उत्पादन गर्न सो क्रसर राखिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । उनले सडकका लागि जनाएपनि सो क्रसर अन्य प्रयोजनका लागि प्रयोग गरिएको सूचना नआएको बताए । क्रसरमा कार्यरत मजदुरका अनुसार पर्वतको जलजलागाउँपालिका– ३ लामाखेतका विनोद हमाल र क्रसर हेर्न र सामग्री लैजान रघुगंगा गाउँपालिका ३ पिप्लेका अशोक शाही पुग्ने गर्छन् । शाहीले व्यक्तिगत जग्गा भाडामा लिएर क्रसर सञ्चालन गरेपनि कालीगण्डकी नदी नजिक रहेको कारण मापदण्ड विपरित क्रसर राखेको छ ।
“जेठ पहिलो सातादेखि क्रसर सञ्चालनमा आएको हो । करिव २ महिना चलेपछि हाल मेसिन विग्रिएकाले क्रसर बन्द अवस्थामा छ” प्रजिअ रानाले भने, “क्रसर कानुनविपरित रहेको छ, सडकबाहेक अन्य प्रयोजनको लागि सामग्री उत्पादन गरेर बेचिएको भेटिएका कारवाही हुनेछ ।”
विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भएपनि सो ठाउँमा क्रसर खोल्न कसैले पनि अनुमति नलिएको भेटिएको छ । केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ ।
राज्यको आम्दानी स्रोत भएको क्षेत्रमा राजनीतिक पहुचँमा क्रसर सञ्चालन हुँदा स्थानीय सरकार र प्रशासन औपचारिकतामा सीमित भएर अनुगमन गर्दै आएको छ । सरोकारवाला मौन बस्दा कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा मापदण्ड विपरित क्रसर र नदीजन्य पदार्थ राजनीतिक दलको संरक्षणमा निरन्तर भइरहेको उत्खन्न रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्