६ महिनामा चितवनमा १५ % विकास खर्च

चितवनमा विकास बजेट सुस्त गतिमा खर्च भएको छ । चालू आवको ६ महिनाको अवधिमा पुँजीगत खर्च १४.९५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले जनाएको छ । यो अवधिमा गत वर्ष झण्डै १८ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो वर्ष गत वर्षभन्दा पुँजीगत खर्च झण्डै ४० प्रतिशत कम हो ।
चालू वर्षमा चितवनमा पुस मसान्तसम्म १४ अर्ब ५५ करोड २५ लाख ९७ हजार ३७७ रुपैयाँ कुल बजेट विनियोजन भएको थियो । जसमध्ये पुँजीगततर्फ ८१ करोड ३९ लाख ३९ हजार ११८ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ ५ अर्ब ४४ करोड ६६ लाख १२ हजार ८ सय रुपैयाँ विनियोजन भएको थियो । यस्तै चालूगततर्फ ५ अर्ब ४१ लाख ४३ हजार ३७० रुपैयाँ खर्च भएको छ । चालूतर्फ ९ अर्ब १० करोड ५९ लाख ८४ हजार ५७७ रुपैयाँ बजेट विनियोजन भएको थियो । चालूतर्फ ५४.९६ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत जिल्लामा चालू तथा पुँजीगततर्फ कुल ३९.९८ प्रतिशत खर्च निकासा भएको छ ।
“सरदर हेर्दा खर्च अनुपात राम्रै छ, तर पुँजीगत खर्च कम देखिन्छ,” कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक शिवप्रसाद पन्थीले भने, “विगतमा भन्दा यो वर्ष विनियोजित बजेट सबै खर्च नहुने संकेत देखिएको छ ।” पुँजीगत बजेट कम खर्च हुँदा विकास निर्माणका काम प्रत्यक्ष प्रभावित हुने देखिन्छ । “विगतमा पनि पुसयता नै बढी निकासा हुने गरेका उदाहरण छन्,” उनले भने, “तर, हालसम्मको प्रगति हेर्दा पुँजीगत खर्च खासै लोभलाग्दो, आश लाग्दो रूपले भएको देखिँदैन ।” उनका अनुसार स्थानीय सरकार गठन भइसकेपश्चात स्थानीय तहमा प्रशासनिक तथा प्राविधिक कर्मचारीको दरबन्दी व्यवस्थापनजस्ता काममा देखिएको अन्योलताले पुँजीगत खर्च धेरै हुन नसकेको बताउँछन् । “केही कार्यालयका विकास बजेट स्थानीय तहमा पुगेका छन्,” उनले भने, “तर, बजेट तथा कार्यक्रम कार्यान्वयन गराउने जनशक्ति व्यवस्थापन भइसकेको अवस्था छैन, जसले समग्र विकास बजेटमा असर पारेको देखिएको छ ।” ५० लाख रुपैयाँसम्मका विकास कार्यक्रम स्थानीय तहमा पुगे पनि कर्मचारी अलमलको अवस्था रहँदा समस्या देखा परेको बताए । संघीय तथा प्रदेश निजामती सेवा ऐन नबन्दासमेत बजेट खर्चलाई प्रभाव परेको उनको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावले पनि विकास बजेट कार्यान्वयनतर्फ चासो नपुगेकाले पनि कम खर्च भएको अनुमान गर्न सकिने बताए । चालूखर्चको अवस्था विगतकै हाराहारीमा रहेको बताए । चितवनमा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत ७४ वटा सरकारी कार्यालयलाई सरकारी कोषको रकम निकासा हुनेगर्छ ।
नारायणगढ– मुग्लिन सडकमा २९ करोड बढी खर्च
निर्माणाधीन नारायणगढ–मुग्लिन सडक आयोजनालाई चालू आवमा २९ करोड ६० लाख २० हजार ३७७ रुपैयाँ निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चालू आवमा पुस महिनामा मात्रै आयोजनालाई ७ करोड ६७ लाख ९३ हजार ७ सय रुपैयाँ पुँजीगत खर्च निकासा भएको छ ।
यस्तै सडक डिभिजन कार्यालय भरतपुरले १५ करोड ५३ लाख २० हजार २१८ रुपैयाँ खर्च गरेको छ । जसमध्ये पुँजीगततर्फ १४ करोड ५५ लाख ९१ हजार ६७४ रुपैयाँ निकासा भएको छ । यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवनले पुस मसान्तसम्म १३ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले ३५ लाख ३० हजार ६६० रुपैयाँ खर्च गरेको छ ।
६ महिनामा चितवनमा १० अर्ब बढी राजस्व संकलन भएको छ । ६ महिनाको अवधिमा १० अर्ब ३२ करोड ४१ लाख ८२ हजार ८२२ रुपैयाँ राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार सबैभन्दा बढी ९ अर्ब ४४ करोड १ लाख २३ हजार ९४५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
विप्लव काफ्ले