पाँच महिना अगावै जरेखोला मोटरेबल पुल सम्पन्न «

पाँच महिना अगावै जरेखोला मोटरेबल पुल सम्पन्न

नेपालका धेरैजसो पूर्वाधार विकासका योजनाहरू समयमै सम्पन्न भएका खबर कमै मात्रामा सुन्न पाइन्छ । अझै तोकिएको म्याद गुजारेका विकास निर्माणका योजनाहरू त अनगिन्ति छन् ।
कतिपय योजनामा निर्माण व्यवसायीको चरम लापरबाही त कतिपयमा स्थानीयको अवरोधलगायतका कारणले वर्षैपिच्छे म्याद थप गर्नुपर्ने बाध्यता पनि छन् । पर्वतमै सञ्चालित कतिपय विकास निर्माणका योजना लामो समयदेखि अलपत्र परिरहेका उदाहरण थुप्रै देख्न सकिन्छ ।
तर पर्वतको कुश्मा नगरपालिकाभित्रै सञ्चालित एउटा मोटरेबल पुलको निर्माण योजना भने निर्धारित समयभन्दा पाँच महिना अगावै सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ पकुवा र वडा नं. १४ स्थित आर्थर डाँडाखर्क जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न भएको हो ।
दोबिल्ला–पकुवा गङगटे–आर्थर सडक खण्डमा पर्ने जहरे खोला पुल र नजिकै रहेको अर्को स्लाब कल्भटको निर्माणकार्य तोकिएको मितिभन्दा अगावै सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालय पर्वतको आर्थिक सहयोगमा निर्माण भएको पुल निर्धारित मितिभन्दा अगावै सकिएपछि स्थानीयबासीलाई आवतजावतमा सहज भएको छ ।
सागर निर्माण, नेस्नल स्ट्रक्चर र कस्तुरी जेभीबीच निर्माण सम्झौता भएको पुलको १३ महिनामै निर्माणकार्य सम्पन्न भएको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । पुल निर्माणका लागि २७ जेठ २०७८ मा सम्झौता भएको थियो । १८ महिनामा निर्माणकार्य सक्ने गरी ठेक्का सम्झौता भएको पुल पाँच महिनाअघि नै सम्पन्न भएको निर्माण व्यवसायी किसा शर्माले जानकारी दिए । शर्माका अनुसार पुलको निर्माण सम्पन्न भैसक्नुपर्ने अवधि आगामी २७ मंसिरसम्म रहेको छ । यो पुल २० दशमलव ६० मिटर लम्बाइको छ । त्यसैगरी एउटामात्र स्पान रहेको पुलको भारवहन क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
यो पुल दुई करोड ९१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । वर्षायामको सुरुवातमै पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग, स्थानीय तहमा जनप्रतिनिधिहरूको निरन्तरताको अनुगमन र ताकेताका कारण समयमै सम्पन्न भएको निर्माण व्यवसायी शर्माले बताए ।
पुल निर्माण सम्पन्न भएपछि पर्वतको कुश्मा नगरपालिका–११ पकुवा, वडा नं. १४ आर्थरडाँडाखर्क, राम्जादेउराली, खौलालाकुरी लगायतका नागरिकलाई सहज भएको छ । पुल निर्माण भएपछि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको सडक अब बाह्रै महिना सञ्चालनमा आउने स्थानीय सुरेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्