आर्थिक विधेयकहरू अघि बढाउन सभामुखलाई आग्रह «

आर्थिक विधेयकहरू अघि बढाउन सभामुखलाई आग्रह

निजी क्षेत्रले प्रतिनिधिसभामा विचाराधीन अर्थतन्त्रसँग सम्वन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेट गरी अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरू अघि बढाउन उनलाई ध्यानाकर्षण गराएको हो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरू सम्बोधन हुन नसकेकोमा गुनासो गरेको थिए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक अर्थ समितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे ।
सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवद्र्धन गर्न सकिए व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले ध्यानाकर्षण गराएका छन् । संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयक पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।
चेम्बरसँगको भेटमा सभामुख सापकोटाले रोकिएका विधेयकलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । सभामुख सापकोटाले भने, “केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विद्येयकहरू करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।” छलफलका क्रममा रहेका आर्थिक विधेयकहरूका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरूसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्