तीन दिन वर्षाको सम्भावना «

तीन दिन वर्षाको सम्भावना

मंगलबारदेखि सुरु भएको वर्षा बिहीबारसम्म जारी रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशैभरि वर्षा हुने सम्भावना देखिएको हो ।
विपत् व्यवस्थापनविद्हरुले लगातारको वर्षाका कारण बाढी, पहिरोजस्ता मानसुनजन्य घटना बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बुधबार भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी बिहिबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्