बुद्धशान्ति गाउँपालिकाका २८ भूमिहीनलाई धनीपुर्जा «

बुद्धशान्ति गाउँपालिकाका २८ भूमिहीनलाई धनीपुर्जा

झापाको बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीले जग्गा धनीपुर्जा पाएका छन् ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसार्इंको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशवकुमार निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–२ का २८ जनाले आफूले भोगचलन गर्दै आएको जमिनको धनीपुर्जा प्राप्त गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले प्रक्रिया पूरा गरेका २८ जनालाई धनीपुर्जा हस्तान्तरण गरेको बुद्धशान्ति गाउँपालिका–१ का अध्यक्ष अनिल वाग्लेले बताए । राष्ट्रिय भूमि आयोगले बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रकृया तीव्ररूपमा अघि बढाएको राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले बताए ।
उनले भने, “राष्ट्रिय भूमि आयोगले यसअघि सुकुम्बासी र दलितहरूलाई धनीपुर्जा वितरण गर्दै आए पनि झापा बुद्धशान्तिमा पहिलोपटक अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा जिल्ला मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत योगेन्द्रप्रसाद दुलालले धनीपुर्जा वितरण पहिलो चरण भएको र यसले निरन्तरता पाउने बताए । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बुद्धशान्तिका सम्पूर्ण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनीपुर्जा प्राप्त गरेको दिन ऐतिहासिक दिन हुने बताए । उनले भने, “बुद्धशान्ति गाउँपालिकाका साढे पाँच हजारभन्दा बढीलाई समेटिएको छ, उहाँहरू सबैले धनीपुर्जा पाएको दिनमात्र हामी सफल हुन्छौं ।”
राष्ट्रिय भूमि आयोग बुद्धशान्ति सेवा केन्द्रका प्रमुख देवेन्द्र कटुवालका अनुसार बुद्धशान्ति वडा नं. ३, वडा नं. १, वडा नंं. ४ र वडा नं.७ मा निस्सा वितरण कार्यलाई निरन्तरतासहित नाप÷नक्सांकनको कार्यलाई अघि बढाइएको छ भने वडा नंं ५ र ६ मा पनि निस्सा वितरण कार्यलाई निरन्तरता दिइने बताइएको छ ।
यसैबीच राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
झापाका ६० हजार बढी परिवारलाई धनीपुर्जा वितरण गर्न आवश्यक देखिएकोमा उनीहरूमध्ये विगतमा गठन भएका सुकुम्बासी समस्या समाधान आयोगले तथ्यांक संकलन गरेका करिब ३५ हजार तथा थप २५ हजारभन्दा बढी नयाँ गरी ६० हजार परिवारलाई धनीपुर्जा वितरण गर्नुपर्ने अवस्था रहेको राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेले जानकारी दिए ।
पाण्डे नेतृत्वको आयोगले जिल्लामा ६ महिनाको अवधिमा ८३ वटा जग्गा धनी प्रमाणपुर्जा वितरण गरेको छ । जसमध्ये २०३४ सालदेखि समस्या देखिएको गौरादह नगरपालिकास्थित महारानीझोडाका ५० परिवार तथा बुद्धशान्ति गाउँपालिका–२ का २८ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो । बुद्धशान्तिमा आयोग आफैले सबै प्रक्रिया पूरा गरी मुलुकमै पहिलो पटक अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको अध्यक्ष पाण्डेले बताए । बुद्धशान्तिमा पाँच धुरदेखि १४ कट्ठासम्म जमिनको जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्