एप्पलको बजार मूल्यमा ४६ अर्ब डलरको गिरावट «

एप्पलको बजार मूल्यमा ४६ अर्ब डलरको गिरावट

एप्पलको सेयरमा गिरावट आएको छ । कम्पनीले आईफोन एक्सको उत्पादनमा भारी कटौती गर्ने आदेश जारी गरेपछिको अवस्थामा कम्पनीको सेयरमा गिरावट आएको छ ।
एप्पलले आपूर्तिकर्तालाई आईफोन एक्सको उत्पादन पहिलो त्रैमासिक अवधिमा नोभेम्बरमा कम्पनीले नै ४ करोड थानबाट २ करोड थानमा झार्न भनेको निकी बिजनेस डेलीले सोमबार प्रकाशित गरेको थियो । बिदा सिजनको अन्त्यमा अपेक्षा गरिएभन्दा कम मात्र बिक्री भएपछि कम्पनीले फोनको उत्पादन कम गर्ने आदेश दिएको हो ।
यो समाचार प्रकाशित भएपछि सोमबार एप्पलको सेयरमा २.१ प्रतिशतको गिरावट आएर बन्द भएको छ । जनवरी २२ देखि हालसम्मको अवधिमा कम्पनीको सेयरमा ५.१ प्रतिशतको गिरावट आइसकेको छ । गत साता कम्पनीका सेयरवाहकहरूको मूल्यमा ४६.४ अर्ब डलरको कमी आइसकेको छ ।
वालस्ट्रिट र अन्य मिडियाले आईफोन एक्सको माग कमजोर भएको समाचार प्रकाशित भएपछिको अवस्थामा निकीको यो लेख सार्वजनिक भएको हो ।
आईफोन एक्सको उत्पादन डिसेम्बरको त्रैमासिकको तुलनामा मार्चको त्रैमासिकमा ५० प्रतिशतले ओरालो लाग्ने जेपी मोर्गानका विश्लेषक नार्सीले ग्राहकको अनुसन्धान टिप्पणीमा लेखेकी थिइन् । उनले पहिलो त्रैमासिक अवधिमा आईफोन एक्सको उत्पादनमा ३ करोड थानबाट २ करोड थानमा झर्ने प्रक्षेपण गरेकी छन् ।
“हामीले हालै मात्र आईफोन एक्सको अर्डरमा गिरावट आएको थप संकेत फेला पारेका छौ ,” उनले लेखेकी छन् ।
ताइवानी इकोनोमिक डेलीले पनि डिसेम्बरको अन्त्यमा एप्पलले आफ्नो बिक्री प्रक्षेपण घटाएको समाचार प्रकाशित गरेको थियो ।
परिणामस्वरूप वालस्ट्रिटका विश्लेषकहरूले आईफोनको मागमा आएको कमीले यो महिना प्रविधि कम्पनीको सेयरमा गिरावट आउने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्