मनसुन चाँडै भित्रिए पनि रोपाइँ ११ प्रतिशत कम «

मनसुन चाँडै भित्रिए पनि रोपाइँ ११ प्रतिशत कम

wfg /fKb} /f]kfxf/ dxf]Q/L, ! ;fpg M dxf]Q/L lhNnfsf] dl6xfgL gu/kflnsf– ! lw/fk’/ ufpFsf] Ps v]tdf wfg /f]Kb} /f]kfxf/ . tl:a/ M;~hLts’df/ d08n÷/f;;

यस वर्ष नेपालमा एक साताअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ भने अपेक्षित रुपमा भएको छैन । सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने गरेकोमा जुन ५ मा नै भित्रिए पनि गत वर्षको तुलनामा रोपाइँ भने ११ प्रतिशत कम भएको छ ।
आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि भने यस वर्षको मनसुन फलदायी रहने कृषि मन्त्रालयले अनुमान गरेको थियो । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिए पनि अहिलेसम्मको अवस्थालाई हेर्दा धान बालीका लागि मनसुन सुखद् नरहेको कृषि विज्ञहरुले प्रतिक्रिया दिएका छन् ।
आवश्यकता अनुसार पानी पर्न नसकेपछि मधेश प्रदेश र प्रदेश नम्बर १ को धान रोपाइँमा असर परेको कृषि मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ । मन्त्रालयको तथ्यकअनुसार ३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ, जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत) मा रोपाइँ भएको कृषि मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यस वर्ष गत वर्षको तुलनामा कम रोपाइँ भएको जानकारी दिँदै अब वर्षा राम्रो भयो भने रोपाइँ बढ्ने बताए । “पहाडी क्षेत्रमा रोपाइँ चाँडो सुरु गरिए पनि तराईमा ढिला सुरु हुन्छ । साउनको दोस्रो सातासम्म रोपाइँ हुनु समान्य नै मानिन्छ,” उनले भने, “यसले गर्दा अहिलेसम्मको अवस्थामा ढिला भए पनि यदि अब वर्षा भयो भने रोपाइँलाई ठूलो असर गर्दैन । जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन राम्रै हुन्छ भनेकाले गत वर्षकै तुलनामा रोपाइँ हुनेमा अझै आशावादी नै छौं ।”
कृषि विभागका अनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जबकि यी क्षेत्रमा गत वर्ष यस अवधिमा क्रमशः ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँयोग्य जमिन छ । विभागका अनुसार यस वर्ष देशभर रोपाइँयोग्य खेतको क्षेत्रफल करिब २७ हजार हेक्टर बढेको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा यस वर्ष यस्तो क्षेत्रफल १५ लाख ४ हजार ४८६ हेक्टर पुग्ने विभागको अनुमान छ ।
असार मसान्तसम्म बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनीमा प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस वर्ष गत वर्ष भन्दा गण्डकीबाहेक सबै प्रदेशमा कम मात्रामा रोपाइँ सकिएको विभागले जनाएको छ । गण्डकीमा गत वर्षभन्दा ३ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको छ । यस्तै बागमतीमा १३ प्रतिशत कम, लुम्बिनी प्रदेशमा १२, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा ४ प्रतिशत क्षेत्रफलमा कम रोपाइँ भएको विभागको तथ्यांक छ ।
मौसमविद् वरुण पौडेलले मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको र मंगलबारदेखि नेपालमा यसको प्रभाव पर्ने भएकाले सुखद् वर्षा हुने संकेत देखिएको बताएका छन् । “पानी राम्रोसँग नपर्दा मूल पनि फुट्न नसकेर धानको बिउ नै सुक्यो, पानी कहिले पर्छ भन्ने प्रश्नहरु बढेका छन् । न्यून चापिय रेखा दक्षिण भारततिर छ । विस्तारै माथि आउँदै गरेकाले मंगलबारदेखि त्यसको प्रभाव पर्ने र यो साता मनसुन केही सुखद् रही किसानलाई राहत पुग्न सक्ने सम्भावना छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्