नेवार समुदायमा गठेमंगल पर्व किन मनाइन्छ ? «

नेवार समुदायमा गठेमंगल पर्व किन मनाइन्छ ?

नेवार समुदायमा गठेमंगल पर्व श्रावण कृष्ण चतुर्दशीका दिन मनाइन्छ । यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफासुग्घर गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । यस चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । वर्षभरिका चतुर्दशीहरूमध्ये यस चतुर्दशीको महत्व निकै फरक र व्यावहारिक छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपिसकिएपछि घरभित्रका दूषित कीटाणु उपियाँ, उडुस भगाउन धूप बालेर धूँवा पठाउने गरिन्छ, जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । श्रावण कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरेर फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो, चौबाटोमा राखिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य, निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गथ्र्यो । त्यसपछि उसलाई घण्टाकर्ण भनिन थाल्यो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए । एक दिन घण्टाकर्ण म¥यो, ऊ मरेपछि खुसीयाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको छ ।
गठेमंगलमा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भगवान् शिवको उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रुपमा लिइन्छ । यस दिन मान्छेहरूले गठेमंगलको औंठीका रूपमा धातुको औंठी लगाउने चलन छ, सम्पूर्ण रूपमा नराम्रा शक्तिहरू र दुर्भाग्यबाट समेत गठेमंगलको औंठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूलढोकामा तीनवटा किला ठोक्ने चलन गठेमंगलको सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौंदेखिका गठेमंगलका किलाहरूले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरूले भने बाँस र पातपतिंगरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाति भनेर कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
गठेमंगलबाट लाखे नाच पनि सुरु हुन्छ । लाखे नाच एक महिनासम्म चल्छ । प्राचीन कालमा दूषित पानी र सरसफाइको कमीका कारणले सामान्य पेट दुख्ने या बान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मान्छेहरूले भूतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ, हाम्रो संस्कारहरूमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण भएको छ । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै रोगव्याधिहरूलाई ओखतीमूलोले ठीक पार्ने क्रम त सुरु भयो, तर हाम्रो संस्कारमा रहेका यी कुराहरू परम्पराका रूपमा हामीसँगै आएका छन् र आइरहून् । सकारात्मक र नकारात्मक शक्तिहरूबीचको तुलना गरिने र सकारात्मक शक्तिको उपासना गरिने गठेमंगल भूतप्रेतको नभई उत्साह र नैराश्यताबीचको एउटा द्योतक दिन हो । गठेमंगल उत्साह, उमंग, उत्प्रेरणा र मुस्कानको द्योतक दिन हो ।

प्रतिक्रिया दिनुहोस्