Logo

दु्रतमार्गको दुवैतर्फ औद्योगिक क्षेत्र विकास गर्ने तथा जालौन र बान्दालाई औद्योगिक हबका रूपमा विकास गरिने पनि योजना छ ।

विकास निर्माणमा भारतको पाठ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तर प्रदेशको बुन्देलखण्ड दु्रतमार्गको उद्घाटन गरे । सन् २०२० को फेब्रुअरीमा मोदीले नै शिलान्यास गरेको यो दु्रतमार्ग २८ महिनामै तयार भएको छ । चार लेनको बुन्देलखण्ड दु्रतमार्ग १ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको छ । २ सय ९६ किलोमिटर लामो द्रुतमार्गमा ४ रेलवे ओभरब्रिज, १४ ठूला पुल, २ सय ८६ साना पुल र १९ फ्लाईओभर निर्माण भएका छन् । पछि ६ लेनसम्म बनाउने योजना रहेको २ सय ९६ किलोमिटर लामो र चार लेनको बुन्देलखण्ड दु्रतमार्ग उत्तर प्रदेश राज्यका सात जिल्लाहरू चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावालाई छुने भारतीय सञ्चारमाध्यमहरूले जनाइएका छन् । ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको यस दु्रतमार्गले चित्रकूट जिल्लाको गोंडा गाउँस्थित एनएच–३५ बाट सुरु भएर इटावा जिल्लाको कुद्रेल गाउँसम्म पुगेको छ । त्यहाँबाट केही पर यो आगरा–लखनउ दु्रतमार्गसँग जोडिएको छ । यो दु्रतमार्ग सञ्चालनमा आएपछि चित्रकूटदेखि राजधानी दिल्लीसम्मको यात्रा करिब आठ घण्टामा पूरा गर्न सकिने जनाइएको छ । हाल उक्त यात्रा १२ देखि १३ घण्टा लाग्छ । निश्चित रूपमा उक्त द्रुतमार्गले कनेक्टिभिटी बढाउनुको अतिरिक्त आर्थिक विकास र रोजगारी पनि बढाउने दाबी भारत सरकारको छ । साथै, दु्रतमार्गको दुवैतर्फ औद्योगिक क्षेत्र विकास गर्ने तथा जालौन र बान्दालाई औद्योगिक हबका रूपमा विकास गरिने पनि योजना छ । बुन्देलखण्ड दु्रतमार्गपछि भारतको उत्तर प्रदेश सरकारले गंगा दु्रतमार्ग बनाउने योजना अगाडि सारेको छ । सन् २०२५ मा आयोजित हुने कुम्भ मेलाअघि नै पूरा गर्ने लक्ष्य लिइएको गंगा दु्रतमार्ग परियोजनाले पश्चिममा मेरठलाई पूर्वमा प्रयागराजसँग जोड्नेछ । ५ सय ९४ किलोमिटर लामो गंगा दु्रतमार्गले वातावरणीय स्वीकृति पाइवरी शिलान्यास भइसकेको छ । यसरी छिमेकी मुलुक भारतमा धमाधम दु्रतमार्ग बनिरहँदा नेपालमा भने काठमाडौंदेखि पोखार पुग्न अझै एक दिन लाग्छ । वीरगन्जबाट सामान लिएर हिँडेको ट्रक काठमाडौं कति दिनमा आइपुग्छ अझै थाहा छैन । काठमाडौं, तराई–मधेस दु्रतमार्ग अझै कति वर्षमा निर्माण सम्पन्न हुुन्छ थाहा छैन ।
सामान्य परिस्थितिमा पनि मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा पुग्दा कति दिन लाग्छ भन्ने अझै अनिश्चित छ । भक्तपुरको नगरकोट जाने बाटो अझ कति वर्षमा निर्माण सम्पन्न हुन्छ थाहा छैन । सरकार नागरिकको कर आ–आफ्ना कार्यकर्तामा बाँड्न व्यस्त छ । विकास निर्माणका काममा आफ्ना ठेकेदार, व्यापारमा आफ्ना व्यापारी, उद्योगमा आफ्ना उद्योगी पोस्दै जाँदा सरकारले नागरिकको करको दुरुपयोगमात्र गरेको छैन, आर्थिक अपराध पनि गरेको छ, जसका कारण कुनै पनि आयोजना समयमा सम्पन्न हुँदैनन् । आयोजना सम्पन्न नगर्ने निर्माण व्यवसायी अनि तिनलाई अनुगमन गर्ने तथा परियोजना दिने सरकारी कर्मचारी हरेक वर्ष काठमाडौंमा नयाँ घर निर्माण गर्छन्, तर मुलुकको विकास निर्माणमा चासो राख्दैनन् । हरेक उद्योगी–व्यापारीका एक एक संरक्षक नेता तथा हरेक सरकारी कर्मचारीका एकसे एक संरक्षक नेता रहुन्जेल नेपालमा विकास निर्माण तथा उद्योग–व्यवासायको विकास हुँदैन । बजेट बनाउँदा होस् वा कुनै नीति बनाउँदा होस्, राजनीतिक दल तथा तिनका नेताले आफ्ना व्यापारी पोस्ने तथा चुनावको खर्च उठाउने दादागिरीजन्य क्रियाकलाप जारी राखेसम्म मुलुकमा प्रतिस्पर्धी व्यावसायिक वातावरण बन्दैन । एउटा निश्चित वर्गलाई मात्र लाभ हुने तर समग्र बजारमा विकृति ल्याउने नीति बनाउने राजनीतिक नेतृत्व तथा कर्मचारीतन्त्रलाई जबसम्म मुलुकप्रतिको यो जघन्य आर्थिक अपराधमा दण्ड–सजाय दिने वातावरण बन्दैन, तबसम्म नेपालमा विकास तथा आर्थिक क्रान्ति एवं समाजवादको गीत गाउनुको कुनै पनि अर्थ रहन्न । कर्मचारीको नियुक्ति तथा सरुवा–बढुवामा कुन नेतालाई कहिले गुना लगाएको थियो, त्यो तिरुन्जेल मुलुक अगाडि बढ्दैन । यस्ता पश्चगामी चरित्र तथा चिन्तनले नै मुलुक पश्चगमनको यात्रामा छ । नागरिकले एकदलीय वंशवादी व्यवस्था वा एकदलीय केन्द्रीय राज्यप्रणालीको भन्दा फरक केही अनुभूत गर्न पाएका छैनन्, जसका कारण राजनीतिक दलले गाउने गरेका संघीय गणतन्त्र, अग्रगमन तथा आर्थिक क्रान्तिका गीत बेसुरा सुनिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्