Logo

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन् ।
शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वाषर््िाक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले चालू आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजारभन्दा माथि पुगेको बताए । उनले चालू आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए । उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्णरूपमा लयमा फर्किएको बताए । महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भएको बताए । उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए । महानिर्देशक पौडेलले चालू आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए ।
उनले भने,‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ । अहिले अन्तर्राष्ट्रिय देशहरूको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन । २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं । अहिलेसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भएको छ । यो भनेको रि इन्ट्रि समेतको गरेर हो । यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ । श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ । अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ । यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ । अहिले वैदेशिक रोजगारी सन्तोकजन रुपमा अगाडि बढेको देखिन्छ ।’
त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए । उनले सबै प्रकारका श्रम स्वीकृतिहरू अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरूको समय र लागत कम भएको दाबी गरे । महानिर्देशक पौडेलले विभागले सक्कली पीडितभन्दा पनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताए । उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताए ।
उनले भने, ‘२०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकीर्तिलाई पूर्ण अनलाइन गरौं । जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो । अहिले सबै प्रकारका श्रम स्वीकृतिहरू अनलाइन भएको छ । यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ । सेवाग्राहीहरूको समय र लागत कम भएको छ । नक्कली पीडितहरूलाई निरुत्साहित गरिएको छ । वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ । तर हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडितहरू नक्कली पीडितहरू हुन् । उनीहरू नक्कली पीडित भएको बहानामा कसैलाई फसाउनको लागि,हुँदै नभएको कारोबार वैदेशिक रोजगारमा ल्याएर जोडेर सेन्टीमेन्ट गर्न लगायतको लागि नक्कली पीडित आउने गरेका छन् । अहिले हामीले सक्कली पीडितको दूध र पानी छानेजस्तै नक्कली पीडितहरूलाई कारबाही गर्न काम गरेका छौं । सक्कली पीडित वैदेशीक रोजगारी विभागको समस्या होइन । सक्कली पीडितका समस्याहरू सजिलै समाधान हुन्छन् । अहिले १० लाखभन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं ।’
महानिर्देशक पौडेलले नेपालको वैदेशिक १० गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए । उनले साउदी अरेबियामा १ लाख ८० हजारभन्दा बढी श्रमिक गएको बताए । पौडेलले दोस्रोमा कतार,तेस्रोमा यूएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएसिया रहेको बताए । उनले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको संख्या बढ्न थालेको बताए । पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताए । उनले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताए ।
त्यस्तै महानिर्देशक पौडेलले चालू आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फस्र्यौट ७० प्रतिशत भएको जानकारी दिए । उनले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गरे । उनले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको बताए ।
महानिर्देशक पौडेलले वैदेशिक रोजगारसम्बन्धी कानुन कार्यविधिमा ठूलो समस्या रहेको बताए । उनले वैदेशिक रोजगारसम्बन्धी ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गर्नुभयो । महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्