नगरको विकासको आधार गढीमाई नै हो «

नगरको विकासको आधार गढीमाई नै हो

मधेश प्रदेशको बारा जिल्लामा रहेको महागढीमाई नगरपालिका नेपालकै प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरका कारण देशैभर परिचित नगरपालिका हो । वि.सं. २०७३ मा स्थापित यो नगर ५५.३२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । बहुजातिको बसोबास रहेको यस नगरमा यादव, गुप्ता, चौधरी र थोरै पहाडिया समुदाय रहेका छन् । ११ वडा रहेको यस नगरपालिकाको जनसंख्या ५४ हजार ४ सय ७४ छ ।
पहिलो पटक स्थानीय निर्वाचित भएपछि मेरो अधिकांश समय मानवसेवामै बित्यो । कोरोना महामारीको समयमा आइसोलेसन वार्ड सञ्चालनदेखि टोर्नाडोले घरबारविहीन परिवारको हकमा अभिभावकीय भूमिका निर्वाह गर्न सफल भएँ । यो देखेर नगरवासीले पुनः जिम्मेवारी सुम्पेर दोस्रो पटक पनि प्रमुखमा जिताएका छन् ।
संघीय सरकारले गढीमाईको गुरुयोजना बनाएको वर्षौं बित्यो, तर योजनामा चासो छैन । राजादेखि राष्ट्रपति, मन्त्रीसम्म आफूलाई आशीर्वाद लिने तर गुरुयोजनाको काम अघि बढाउन कसैले चासो राखेनन् । गुरुयोजनाअन्तर्गत मन्दिर क्षेत्रमा आवास, पार्किङ, सडक, रिङरोड, रंगशाला, विवाह मण्डप बनाउने उल्लेख छ ।
धार्मिक पर्यटनको बलियो आधार हामीले बुझेका छौं । त्यसैले गढीमाई मन्दिर आउने सडक र बाटो ठूलो बनाएका छौं । कलैया बजारबाट ५ मिनेटमै मन्दिर आउन सहज बनेको छ । बाटोकै कारण देशका विभिन्न स्थानबाट मन्दिर आउने भक्तजनका कारण यहाँ रोजगारी, व्यापारसमेत विगतभन्दा बढ्दै गएको छ ।
महागढीमाईदेखि सिम्रौनगढसम्म १६ किलोमिटर पर्यटन करिडोरका रूपमा विकास गर्ने अभियानमा लागेका छौं । उक्त खण्डमा आदर्शकोतबाल पालिका छ । हामी तीनै पालिका मिलेर बिहान गढीमाई दर्शन गरेका पर्यटकलाई करिडोरभित्र भुलाउन पार्क, पोखरी सौन्दर्यकरण, निजी क्षेत्रका होटल र सिम्रौनगढमा गाइड तथा पथप्रर्दशकको व्यवस्था गर्ने अभियानमा जुटेका छौं ।
महागढीमाई विश्वसम्पदा सूचीमा राख्न राज्य सरकारलाई गरेको सयौं पटकको पहलमा बेवास्ता भएको छ । यो सूचीमा पर्नेबित्तिकै यहाँको पर्यटन विकासले तीव्र गति लिने विश्वास छ ।
एक महिना लाग्ने पञ्चवर्षीय मेलामा आउने करोडभन्दा बढी भक्तजन अन्य समयमा समेत आउने वातावरण बनाउन नगर लाग्न जरुरी छ । सकेजति लाग्छौं, गर्छौं । मन्दिर परिसरमा अत्याधुनिक शौचालय बनेको छ भने माथि सूर्य मन्दिरमुनि सिसमहल निर्माणको चरणमा रहेको छ ।
कलैयाबाट प्रवेश गर्ने पर्यटकलाई रात बिसाउने वातावरण बनाउन तिनै पालिकाले आन्तरिक प्रवद्र्धनमा लाग्न थालेको छ । दैनिक ३ हजारसम्म दर्शनार्थी आउने गढीमाईमा १ सय पर्यटकलाई मात्र एक रात राख्न सक्यौं भने उसले खर्च गर्ने यहीं हो, जसका कारण रोजगारी र व्यापार वृद्धि हुने बुझेर केन्द्र सरकारको मुख ताक्नुभन्दा आफैं स्रोत व्यवस्थापन जुटाउने अभियानमा म छु ।
सिम्रौनगढसम्म १४ किमि बाटोमा पर्ने ऐतिहासिक मन्दिर, पुराताŒिवक वस्तु, प्राचीन पोखरी, वाटिकाको सौन्दर्यकरण गर्ने काम अबको योजना हो । मन्दिर पुग्ने बाटोसँगै ११ वडालाई जोड्ने सबै बाटो चौडा गरेको छु ।
धार्मिक पर्यटन हाम्रो बलियो स्रोत बन्ने बुझेका छौं । त्यसैले मन्दिर परिसरमा पूर्वाधार लगानीमा जोड दिएका छौं । मेलामा मात्रै आयोजना हुने कुस्ती खेललाई अब सीमित नराखी बृहत् बनाउनेछौं । पर्यटकीय हिसाबले निन्तरता दिने छौं ।
पहिलो निर्वाचनमा आफू निर्वाचित भएलगत्तै जमिनदारी शैलीको नगरमा हुने यहाँका रैथानेहरूबाट हुने हुकुमी व्यवहार नगरबाट हटाएँ । नगरवासीलाई वीरगन्ज, चितवन, काठमाडौंसम्म एम्बुलेन्स निःशुल्क गरेको छु । अघिल्लो कार्यकालका कतिपय कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि छु ।
अन्य स्थानीय तहभन्दा फरक ढंगले नगरवासीको स्वास्थ्यप्रति संवेदनशील छु । स्वास्थ्य ल्याब निःशुल्क गरेका छु । मुटुरोग, किड्नी, क्यान्सरजस्ता घातक रोगले ग्रसित हजारौं नगरवासीलाई २० हजारदेखि २ लाखसम्म आर्थिक सहयोग निरन्तर जारी राखेको छु । सडक, बाटोघाटो नियमित गरिने पूर्वाधार विकास हो । तर, मानव सेवा अपरिहार्य हो ।
प्रमुखमा पुनः दोस्रो पटक निर्वाचित भएपछि नेतृत्वबाट नगरमा धेरै परिवर्तन गर्ने आशा नगरवासीले गरेका छन्, त्यो म पूरा गर्छु । निर्वाचनको मैदानमा जाने क्रममा घोषणपत्रमा समावेश गरेका विषयलाई नै सम्बोधन गरेर अगाडि बढेको पनि छु । समस्या धेरै र स्रोत कम रहेकाले शून्य अवस्थाबाट काम सुरु गरेकाले गरेका कामको परिणाम अबका समयमा देखिनेछ ।
म प्रस्ट छु, सबै नगरवासीले बुझेरै आफ्ना समस्या राख्ने गरेको हुँदा सक्ने र हुने काम तुरुन्तै गर्न निर्देशन दिने गरेको छु । देशका विभिन्न स्थानमा गढीमाईको नाममा मन्दिर र नाम रहेकाले स्थानीयवासीको रायमा महागढीमाई नगरको नाम राख्न सफल बनेको हुँ ।
९८ प्रतिशत जमिन खेतीयोग्य रहेको नगर कृषिमा आश्रित नगर हो । यहाँ आठवटा सिँचाइ योजनाबाट ३ हजार ५ सय ४२ हेक्टर जमिन सिञ्चित हुने गरेको छ । यहाँका नगदे बाली अन्य जिल्ला हुँदै देशका सहरहरूमा निर्यात हुने गर्छ, विशेष गरी तरकारी । अबको योजना नगरको आन्तरिक आयको वृद्धिका लागि केन्द्रित हुनेछ ।
नगरले किसानको नगदे बालीमा दररेट तोक्नेछ । स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको नगरले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र अनाथ बालबालिकालाई निःशुल्क अतिरिक्त औषधि र स्वास्थ्य बिमाको व्यवस्था गरेको छ ।
बालविवाह, बालहिंसा, दाइजो प्रथाको अवस्थामा नगर एकदमै न्यून गर्न सफल बनेको नगरमा महिला हिंसा, शोषणलगायतका विषयमा कार्यालयले अभियानै चालेको छ ।
आगामी दिनमा ८० प्रतिशत किसान रहेको नगरमा उन्नत कृषि प्रणाली, प्राविधिक शैक्षिक सुधार कार्यक्रम, नगरभित्रै सामान्य रोगको उपचार, गन्जभवानीपुर बजारलाई व्यवस्थित बजार बनाउने र २ नम्बरको बजारलाई थप विस्तार गर्ने उद्देश्यले काम सुरु भएको छ । आफ्नो कार्यकाल नमुना बनाई आउने जनप्रतिनिधिहरूलाई समेत शिक्षा हुने गरी लाग्नेमा प्रतिबद्ध छु ।

प्रतिक्रिया दिनुहोस्