Logo

आर्थिक वर्ष २०७८/०७९

एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अंकले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो ।
२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो । लगानीकर्ताहरु भने मौद्रिक नीतिका कारण सेयर बजार घटेको बताउँछन् । मौद्रिक नीतिले ४÷१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य तरलता सुकेका कारण पनि बजारमा सिँचाइ हुन नसकेको उनको भनाइ छ । साथै, रिस्क वेटेज बढाएर १०० बाट १५० बनाएका कारण पनि सेयर बजारमा लगानीकर्ता हतोत्साहि बनेको उनको भनाइ छ । सेयर भनेको जग्गाजस्तो होइन, सहजै बेच्न सक्छ, त्यसैले हाम्रो बजारमा सेयरको रिस्क वेटेज बढाउन आवश्यक नभएको उनको तर्क छ ।
२०७८ भदौ २ गते ३१९८.६० विन्दुमा पुगेर उच्चतम ऐतिहासिक कीर्तिमान राखेको नेप्से परिसूचक २०७९ असार ९ गते १८४८.२८ मा झरेको थियो । त्यसैले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको कमजोरीका कारण पनि बजारमा उतारचढाव आएको लगानीकर्ताहरुको गुनासो छ । छरिएर बसेको पुँजीलाई संकलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने साधनको रुपमा सेयर बजारलाई प्रोत्साहन गर्नुपर्नेमा नीतिगत अस्थिरता तथा संस्थागत अस्थिरताका कारण पनि सेयर बजारले गहिराइ लिन नसकेको लगानीकर्ताहरुको गुनासो छ । तर, बजारमा सेयरको संख्या पनि थपिएको छ भने धेरै योगदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुको एवं बिमा कम्पनीहरुको संख्या घट्दैछ ।
एक वर्षमा थप १ खर्ब हाराहारीका सेयर सूचीकरणका बावजुद पँुजीकरण ४०.११ खर्ब रूपैयाँबाट २८.४७ प्रतिशतले घटेर २८.६९ खर्बमा झरेको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन शुक्रबार नेप्सेमा २ घण्टामा २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजारमा खरिदबिक्री भएको थियो । तर, बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने घटेको थियो । किनकि बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । तर, चालू आर्थिक वर्षको कुल २३२ दिन सेयर कारोबारमा २०७८ साउन ३१ गते सबैभन्दा धेरै २१ अर्ब ६४ करोड ७६ लाख बराबरको ऐतिहासिक रकम बराबरको सेयर कारोबार भएको थियो । जसका कारण सरकारले पनि सेयर बजारलाई राजस्वको एउटा भरपर्दो स्रोतको रुपमा लिन थालेको छ ।
नेप्सेका अनुसार आर्थिक वर्ष २०७८/०७९ भरिमा कुल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्