Logo

विद्युतगृह भासिँदा एकै परिवारका तीनको मृत्यु

जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिही स्थित भित्री खोला लघु जलविद्युत आयोजनाको विद्युत गृह भासिएर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । विहीबार राति करिब साढे २ वजे आयोजनाको विद्युत गृह भासिँदा एकै घरका आमा २ दुई छोरा सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा आमा ३० वर्षीय बिमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए । उनले भने, “उक्त विद्युत गृहका चौकीदार बिमलाका श्रीमान् गोरख बहादुर रावत हुन् । श्रीमान गाउँको काममा जाँदा कहिलेकाहीँ श्रीमतीले ड्युटी गर्दै आउनु भएको थियो । विहिबार राति विद्युत गृहमा २ छोरा आमा सुतिरहेकै अवस्थामा विद्युत गृहमा भासिएपछि घटनास्थलमै मृत्यु भएको हो ।”
विहिबार राति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भासिँदा एकै परिवारका ३ जनाको मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टिमले घटनास्थलको अवलोकन गरेको हो । घटनास्थलको अवलोकन गरेपछि हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहत स्वरुप एक लाख रकम दिने निर्णय भएको जानकारी दिए । उनले गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षतिग्रस्त विद्युत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।
अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ । यसैगरी संघीय सरकारले नियमानुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्